काठमाडौं । अमेरिकामा रहेर चिकित्सक पेशामा आवद्ध जोडी सुरेश बस्नेत र रेहा पोखरेलको अभिनय रहेको गीत ‘सधैं साथमा तिम्रो’ को भिडियो सार्वजनिक भएको छ । सुरेशकै स्वर रहेको गीतमा गोविन पुनको शब्द र संगीत छ । ‘दुई मुटु, एक यात्रा’ थिम राखेर तयार पारिएको गीतको भिडियो अमेरिका, अष्ट्रेलिया र न्यूजिल्याण्डमा खिचिएको हो ।
गीतको भिडियोमा श्रीमान् श्रीमतिको रुपमा सुरेश र रेहाले नै अभिनय गरेका छन् । गीतले रेहा र सुरेशको वास्तविक प्रेम यात्रा र जीवनको आरोहलाई प्रस्तुत गरेको छ ।
विक्रान्त मान श्रेष्ठ र क्रिस्टिना बसिस्टको निर्देशनमा तयार भएको यो भिडियोमा साहिल खानको सम्पादन, प्रविण श्रेष्ठको पटकथा छ । भिडियोको छायांकन अष्ट्रेलियामा सौरभ मानन्धर, न्यूजिल्याण्डमा यूरिका फिल्मस् प्रा।लि र अमेरिकामा पशुपति बस्यालले गरेका हुन् ।
महंगो लागतमा भिडियो तयार पारेका गायक तथा मोडल सुरेश भन्छन्–‘हामीले पैसाका लागि भन्दा पनि गीतसंगीतप्रतिको अथाहा प्रेमका कारण दर्शकमाझ प्रेमको कोशेली सार्वजनिक गरेका हौं । यो गीत र भिडियोले दर्शकको मन छुनेछ भन्ने विश्वास छ ।’
चिकित्सिक पेशामा निकै व्यस्त हुँदा पनि सुरेश र रेहाले गीतसंगीतलाई निरन्तर अगाडि बढाउने बताएका छन् ।




