फूलपातीको छेकोमा अनमोलको बाटुलो जून

काठमाडौं । अभिनेता अनमोल केसी र डेब्यू अभिनेत्री प्रिन्सी खतिवडा स्टारर फिल्म ‘बाटुलो जून’ २०८३ को दशैंको फूलपाती छेकोमा अर्थात् असोज ३० गते रिलिज हुने भएको छ । सनराइज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण यो फिल्मले अभिनेता अनमोलको सोमबार परेको जन्मदिनको अवसर पारेर फस्टलुकसहित रिलिज मिति सार्वजनिक गरेको हो ।

पोस्टरमा अनमोल र प्रिन्सी खतिवडा फिचर्ड छन् । ग्रामिण परिवेशको प्रेमकथा समावेश फिल्ममा जिया केसी र भविष्य खड्काको निर्माण छ । अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीको निर्देशन रहेको फिल्ममा भुवन नै शीर्ष भूमिकामा छन् ।

फिल्ममा पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का, प्रकाश घिमिरे, रियर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटी, अर्पणा घतानी, विविका पौडेल र कमल देवकोटाको अभिनय छ ।

काठमाडौ, म्याग्दी, नुवाकोट, चित्लाङ र पोखरा लगायतका स्थानमा छायांकन गरिएको फिल्ममा तेजविक्रम केसी कार्यकारी निर्माता, सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको लेखन, प्रदीप श्रेष्ठको सहायक निर्देशन र राजेश श्रेष्ठको छायांकन छ ।