रोल नं. १ पोस्टरः आशा, गरिबी र संघर्ष

काठमाडौं । फिल्म ‘रोल नं १’ को दुई पोस्टर सार्वजनिक भएको छ । सेभेन सिज सिनेमाले निर्माण गरेको फिल्म आगामी वर्षको जेठ १५ गते (गणतन्त्र दिवस)बाट प्रदर्शनमा आउँदैछ ।

दुई पोस्टरले पात्रहरूको परिचयसँगै फिल्मको मूल मर्म, नेपाली समाजको यथार्थप्रतिको दृष्टिकोणलाई प्रस्तुत गर्ने प्रयास गरेको छ । पोस्टरमा प्रयोग गरिएको माटोको रङले भुइँमान्छेको भएको संकेत गरेको छ ।

एक पोस्टरमा बाल–कलाकार निर्भिक रेग्मीसँगै फिल्मका मुख्य कलाकार मुकुन भुसाल र रेणु योगी ग्रामीण परिवेशको पहिरनमा देखिएका छन् । अभावमा पनि उनीहरुले छोरालाई पढाइरहेको पोस्टरले देखाएको छ ।

पहिलो पोस्टरमा बालकको अनुहारमा देखिएको मन्दमन्द खुसी र पछाडि देखिएको पहाडी भेगको विद्यालयले शिक्षा र ग्रामीण जीवनको कथा फिल्मले उठान गर्ने प्रस्ट्याएको छ । बालकले स्वीटर र सर्ट लगाएर झोला बोकेको छ ।बालकको पछाडि रहेकी आमाले थाप्लोमा कालो कराइ राखेकी छिन् र बुबाले दमाहा बाजा भिरेका छन् । पृष्ठभूमिमा एउटा पहाडी सरकारी विद्यालयको भवन देखिन्छ ।

अर्को पोस्टरमा बालक आफ्ना बुबाको पिठ्युँमा टाउको राखेर सुतेको भावनात्मक दृश्य छ । बालकको अनुहारमा देखिएको खुसी र पछाडि देखिएको पहाडी भेग छ । जहाँ, बालकको टाउकोमुनि र उसको बुवाको टाउको माथि कपी छ । यसले विद्यार्थीका लागि आवश्यक पठन सामग्री ग्रामीण विद्यार्थी र अभिभावको शिक्षाको सपनाको बाधक बनिरहेका छन् भन्ने संकेत गरिरहेको छ । पठन सामग्री जुटाउन ग्रामीण अभिभावकलाई कति कठिन छ भन्ने यो पोस्टरको देखाउने प्रयास गरेको छ । यो कपीले बालकको सपना र बुबाको जिम्मेवारीलाई जोडेको छ ।

फिल्मको ट्यागलाइन ‘हरेक विद्यार्थीको कथा’ राखिएको छ, जसले यो फिल्म विद्यार्थी जीवन, विद्यालयको संघर्ष र शैक्षिक सपनामा केन्द्रित रहेको प्रस्ट पार्छ । जोन योञ्जनको निर्देशनमा तयार भएको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।

विनोद पौडेल र जान्वी पौडेल निर्मातामा रहेको फिल्मको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । महेश दवाडीको लेखन रहेको फिल्ममा शिवराम श्रेष्ठको डिओपी छ ।

फिल्ममा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको विजिएम, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी रहेका छन् । फिल्मका सम्पादक मदन घिमिरे हुन् । फिल्मलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्ने जिम्मा लिएको छ ।