लालीबजारलाई दुई सातामा ५ करोड २५ लाख

काठमाडौं । गत वैशाख २५ देखि प्रदर्शन भएको फिल्म ‘लालीबजार’ आजदेखि तेस्रो सातामा प्रवेश गरेको छ । तेस्रो सातामा प्रवेश गरेको फिल्मले ५ करोड २५ लाख रुपैयाँको ग्रस कलेक्सन गरिसकेको निर्माण कम्पनी षट्कोण आर्ट्सले जनाएको छ । कम्पनीका सीईओ म्याक्स दीपेश खत्रीका अनुसार फिल्मले जेठ ७ गते बेलुकी ११ः५९ सम्ममा उक्त ग्रस कलेक्सन गरेको हो ।

उनले प्रदर्शनको पहिलो साताको तुलनामा दोस्रो सातामा १० प्रतिशत बढी दर्शकले फिल्म हेरेको जानकारी दिए । नेपालभरका प्रमुख सहरमा दर्शक भेटेर फर्किएकी अभिनेत्री स्वस्तिमा खड्काले देशभर नै दर्शकको माया उस्तै रहेको बताइन ।

फिल्मलाई पछिल्लो समय विद्यालयले आफ्नो विद्यार्थीलाई देखाउन थालेका छन् । काठमाडौँसँगै मोफसलका केही हलमा विद्यार्थीलाई विद्यालयले हल ल्याएर फिल्म देखाउन थालेका हुन् । फिल्मले दिएको संदेशले शिक्षाको महत्वलाई दर्शाउने बताउँदै विद्यालयले फिल्म देखाउन थालेका हुन् । आमा र छोरीको कथामा आधारित फिल्मले शिक्षित भएपछि शासकले गरेको शोषण र कुप्रथा विरुद्ध आवाज उठाउन प्रेरित गर्छ । सोही कारण शिक्षा महत्व झल्किने भएकाले पनि विद्यार्थीलाई ल्याएर विद्यालयले फिल्म देखाउन थालेका हुन् । यो क्रम काठमाडौँसँगै मोफसलमा पनि बढेको छ ।

बिहिबार मात्र नेपालगंजको सिने रोयलमा ६ सयको हाराहारीमा विद्यार्थीले फिल्म हेरेका थिए । दिनभरकै शोमा विद्यार्थीको आगमन भएपछि फिल्मका नव कलाकार विशाल देवकोटा, प्रशंसा सुवेदी र समाईरा थापा भेटघाट गर्न पुगेका थिए । आज शुक्रबार पनि केही विद्यालयका विद्यार्थीले फिल्म हेर्ने स्थानीय प्रदर्शकले जनाएका छन् ।

फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टल लगायतको अभिनय रहेको छ । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्मको पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।