काठमाडौं । नेपाली फिल्म उद्योगमा ‘विश्वासिलो निर्माता’को पहिचान बनाएका सुशील पोखरेल अन्ततः ७ वर्षपछि फिल्म ‘परालको आगो’मार्फत फिल्ममा कमब्याक गरेका छन्। निर्माता पोखरेलले नेपाली फिल्मलाई दिएका योगदान कुनै साधारण छैनन् ।
परदेशी, मैदान, जीवनदाता, जय शिव शंकर, निगरानी, बडिगार्ड, लभसब, राधेहुँदै पछिल्लो फिल्म ‘यात्रा’ जस्ता फिल्ममार्फत उनले ठूला स्टारहरूसँग काम गर्दै हिट र यादगार फिल्मको श्रृंखला दिएका छन्। विशेषगरी ‘जय शिव शंकर’, ‘जीवनदाता’ र ‘मैदान’ जस्ता फिल्मले उनको सफलताको प्रमाण दिन्छन्।
पुरानो पुस्तादेखि नयाँ पुस्तासम्म जोड्ने सेतुका रूपमा चिनिने सुशीलले अभिनेत्री झरना थापासँग काम गरेका थिए भने अहिले उनकी छोरी सुहाना थापासँग ‘परालको आगो’मा सहकार्य गर्दै छन्।
यो फिल्ममा सौगात मल्ल, सुहाना थापा, प्रकाश सपुत मुख्य भूमिकामा देखिँदै छन्। सामाजिक यथार्थ, गहिरो भावना र शक्तिशाली कथा बोकेको यो फिल्म बैशाख ११ गते प्रदर्शनमा आउँदैछ। फिल्ममा लक्ष्मण सुनारको निर्देशन र सुशील देवकोटाको पटकथा तथा संवाद छ ।




