काठमाडौं । लेखक एवम् स्तम्भकार केशव दाहालको नयाँ उपन्यास ‘इथा’ लोकार्पण गरिएको छ । भक्तपुरको राधेराधेस्थित रोयल थाई हस्पिटालिटीमा शनिबार आयोजित विशेष समारोहमा सहभागीहरूबाट पुस्तक लोकार्पण गरियो ।
कार्यक्रमको मुख्य आकर्षण थियो— शिल्पी थिएटरले उपन्यास ‘इथा’माथि तयार पारेको गीति नाटक । यसमा कलाकारहरूले ‘इथा’ले उठाउन खोजेको विषयवस्तुलाई नाटकका माध्यमबाट प्रस्ट पारेका थिए । उपन्यासका पात्रहरू वसुधा, लखा, धान्यवती, नयनतारा, सौरन्द्री आदि बनेर गरिएको अभिनय वास्तवमै जीवन्त थियो ।
कार्यक्रमका भूषिता वशिष्ठले ‘इथा’ उपन्यासमाथि विचारोत्तेजक विमर्श प्रस्तुत गरिन् । इथालाई केवल ऐतिहासिक आख्यानका रूपमा सीमित नराखी उनले पौरस्त्य दर्शनका दृष्टिबाट व्याख्या गरिन् । इतिहास, संघर्ष र महिला स्वाभिमानको सशक्त अभिव्यक्ति ‘इथा’ रहेको उनको भनाइ छ ।
वशिष्ठले विशेषगरी उपन्यासका महिला पात्रहरूलाई पौरस्त्य दर्शनको ‘शक्ति’ अवधारणासँग तुलना गर्दै उनीहरू केवल पात्र नभई प्रतीकका रूपमा उभिएका उल्लेख गरिन् । ती महिलामा देखिएको साहस, विद्रोह र विनम्रता कुनै व्यक्तिगत गुण मात्र नभई व्यापक सांस्कृतिक चेतनाको रहेको उनले बताइन्, जसले पाठकलाई आफ्नो अस्तित्व र स्वतन्त्रताबारे पुनर्विचार गर्न प्रेरित गर्ने उनको भनाइ छ ।
‘इथाको कथा प्रवाह, पात्रहरूको आत्मसंघर्ष र उनीहरूले लिएको निर्णायक अडानले मलाई भित्रैदेखि छोएको छ,’ उनले भनिन्, ‘यो पुस्तक म तपाईंहरु सबैलाई एक पटक पढ्नैपर्ने पुस्तकका रूपमा सिफारिस गर्छु । यति सुन्दर एवम् सुललित किसिमले लेखिएको उपन्यास हामीले कमै मात्रामा पढ्न पाउँछौं ।’
विमर्शका क्रममा उनले भारतीय साहित्यमा ‘वैशालीकी नगरवधू’ले स्थापित गरेको मानकलाई स्मरण गर्दै ‘इथा’ लाई त्यही स्तरको प्रभाव पार्न सक्ने कृतिका रूपमा मूल्यांकन गरिन् । ‘वैशालीकी नगरवधू’ले भारतमा ऐतिहासिक परिवेशमा आधारित भएर पनि समाज, संस्कृति र मानवीय सम्बन्धहरूको गहिरो चित्रण गर्दै एक नयाँ मापदण्ड स्थापित गरेको थियो,’ उनले भनिन्, ‘इथा’ ले पनि नेपाली साहित्यमा नयाँ उचाइ निर्धारण गर्ने सम्भावना बोकेको छ ।’
उपन्यास ‘इथा’ ले करिब दुई हजार चार सय वर्षअघिको ऐतिहासिक, पौराणिक र किंवदन्तीमूलक परिवेशलाई आधार बनाउँदै वैशालीबाट लिच्छविहरू कसरी मञ्जुपट्टन आइपुगे र सौमरहरूमाथि विजय हासिल गरी नयाँ राज्यको स्थापना गरे भन्ने विषयलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ ।




