काठमान्डौं । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्दै गरेको नाटक सेतो धरती यही चैत २७ गतेदेखि मञ्चन हुने भएको छ। अमर न्यौपानेद्वारा लिखित मदन पुरस्कार विजेता प्रसिद्ध पुस्तक सेतो धरती मा आधारित यस नाटकको मुख्य भूमिकामा अभिनेत्री बेनिशा हमाल रहनेछिन् ।
नाटकमा निर्माताको रूपमा रेखा थापा जोडिएकी छन् । कान्तिपुर फिल्म एकेडेमीले सार्वजनिक गरेको पोस्टरमा लेखक अमर न्यौपाने, निर्माता रेखा थापा र निर्देशक सुन्दर धितालको नाम उल्लेख गरिएको छ। सुन्दर धितालले यसअघि रेखा थापाकै डेब्यु नाटक मीरा निर्देशन गरेका थिए भने रेखाले पनि कान्तिपुर फिल्म एकेडेमीकै थिएटरबाट रंगमञ्च यात्रा सुरु गरेकी थिइन्।
हाल धमाधम रिहर्सल भइरहेको नाटक सेतो धरती मा बेनिशा हमाललगायत फिल्म, थिएटर र कान्तिपुर फिल्म एकेडेमीका गरी ३० भन्दा बढी कलाकारहरू एकैपटक मञ्चमा देखिँदै छन्।
यसअघि कान्तिपुर थिएटरले दीपक सिंजालीको उपन्यास मीरा मा रेखा थापा तथा पारिजातको उपन्यास शिरीषको फूल मा जीवन लुइँटेललाई रंगमञ्चमा ल्याएर नाटक निर्माण गरिसकेको छ। अहिले बेनिशा हमालको रंगमञ्च आगमनलाई पनि विशेष चासोका साथ हेरिएको छ।
कान्तिपुर फिल्म एकेडेमीले कान्तिपुर थिएटरमार्फत रंगमञ्च, सिनेमा र साहित्यलाई जोड्ने उद्देश्यले चर्चित पुस्तकहरूलाई नाटकका रूपमा प्रस्तुत गर्दै आएको एकेडेमीका सीईओ प्रकाश पुरीले बताए।
नाटक सेतो धरती यही चैत २७ गते शुक्रबारदेखि वैशाख १९ गते शनिबारसम्म मञ्चन हुनेछ। बुधबार बाहेक हरेक दिन साँझ ५ः१५ बजे तथा शनिबार, आइतबार र नयाँ वर्षको दिन दिउँसो १ः१५ बजे पनि विशेष शो रहने बताइएको छ।




