नेपालीलाई फिल्म पढाउँदै घई

काठमाडौं । फिल्म निर्माण, वितरण र प्रदर्शनसँगै फिल्म शिक्षालाई प्राथमिकता दिन काठमाडौमा ‘फिल्म र मिडिया नलेज सेमीनार’ हुने भएको छ । राजधानीको कान्तिपुर फिल्म एकेडेमी र मुम्बईको प्रसिद्ध फिल्म स्कुल विस्लीङ्ग उड ईन्टरनेसनलको संयुक्त आयोजनामा हुने कार्यशालामा बलिउडका चर्चित फिल्म निर्देशक सुभास घई नेपाल आउने भएका छन् । उनी विस्लिङ उडका संस्थापक अध्यक्ष पनि हुन् । उनले नेपाली चेली मनिषा कोइरालालाई १९९१ मा फिल्म ‘सौदागर’बाट बलिउडमा डेब्यु गराएका थिए ।

कार्यशालामा मिडिया शिक्षा, मोबाइल फिल्म मेकिङ स्क्रिप्ट लेखन र फेसन डिजाइनका विषयमा बहस हुनेछ । कार्यशालामा सुवाससँगै स्क्रिप्ट लेखक अन्जुम राजाबली, फेसन डिजाइनर, निशा चन्दा, फिल्मकर्मी रवीया नाज्की तथा मुक्ता आर्टस्का प्रवन्ध निर्देशक राहुल पुरी र नेपाली निर्देशक दिनेश डिसीको सहभागिता हुनेछ ।

आगामी जेठ २० गते राजधानीको होटल अन्नपूर्णमा हुने कार्यशालाले नेपाली फिल्म, फेसन र मिडियालाई अझ बढी बिस्तारित र शिक्षित बनाउने विश्वास लिएको एकेडेमीका प्रमुख कार्यकारी अधिकृत प्रकाश पुरीले बताए । पुरी लगायतको टोली गत महिना मुम्बई पुगेर सुभास घई र विस्लीङ उडलाई नेपालमा फिल्म शिक्षालाई प्रबद्र्धन गर्न कार्यशाला गर्ने सम्झौता गरेका थिए ।