बेलायतमा बन्यो इलामको वृत्तचित्र

काठमाडौं । इलाम समाज बेलायतले गृह जिल्ला इलामलाई विश्वव्यापी रूपमा चिनाउन वृत्तचित्र ‘इलाम हाम्रो पहिचान’ बनाएको छ । करिब दुई घण्टा अवधिको वृत्तचित्रमा इलाम जिल्लाको भौगोलिक अवस्था, प्राकृतिक सौन्दर्य, कला, संस्कार, संस्कृति, भाषा र मौलिक परम्परा समेटिएको बेलायतबाट मुकेश राईले जानकारी दिए ।

समाजका डिल्लीकुमार गुरुङले इलामका महत्वपूर्ण कुरा समाविष्ट गर्ने हेतुले सन् २०१७ जनवरीमा छायांकन सुरु गरिएर एक वर्षमा सकिएको जनाए । त्यसपछि सम्पादनसहित प्राविधिक कार्य अप्रिलमा सकिएको थियो । वृत्तचित्र निर्देशन, छायांकन र सम्पादनको काम सुरेश काफ्लेले गरेका छन् ।  वृत्तचित्रका ‘इलाम हाम्रो पहिचान’बोलको गीतमा शब्द संयोजन गीतकार राईले गरेका हुन् भने संगीत तथा स्वर मन थुलुङको छ । स्वरमा थुलुङलाई सुनिता थेगिमले साथ दिएकी छन् ।

बेलायतको अल्डर्सटस्थित एम्पायर हलमा हालै वृत्तचित्र प्रदर्शन गरिएको थियो । ग्रेटर रसमुर नेपाली समाजका अध्यक्ष जीवा बेलाबासे, इलाम समाजका अध्यक्ष गोपाल गिरी र वरिष्ठ सल्लाहकार कमल राईले वृत्तचित्र सार्वजनिक गरेका थिए ।

वृत्तचित्र निर्माणमा बेलायतमा बसोबास गर्दै आएका इलामेले आर्थिक सहयोग गरेका थिए । समाजका अध्यक्ष गिरीले यो वृत्तचित्र इलामे मात्र नभई सम्पूर्ण नेपालीकै निम्ति गर्व महसुस गराउने दस्तावेजका रुपमा रहेको बताएका थिए ।