बाः एक योद्धाः पर्दामा पनि झरना र सुहाना आमाछोरी

काठमाडौं । नेपाली फिल्म क्षेत्रकी सफल अभिनेत्री तथा निर्देशक झरना थापा र उनकी छोरी अभिनेत्री सुहाना थापा पहिलो पटक एउटै फिल्ममा देखिने भएका छन् । संगीतकारको रूपमा स्थापित हरि लम्सालको डेब्यु निर्देशन रहने फिल्म ‘बाः एक योद्धा’मा उनीहरु आमा–छोरीको मुख्य भूमिका रहने पक्का भएको हो ।

विगत दुई सातादेखि छायांकन भइरहेको यस फिल्मको निर्माण पक्षले कलाकारहरूको नाम गोप्य राखेको थियो । यतिबेला काठमाडौंका विभिन्न स्थानमा फिल्मको धमाधम छायांकन भइरहेको छ र झरना–सुहानाले सेटमा एकसाथ टेक दिइरहेका छन् ।

गत चैत्र ९ गते काठमाडौंस्थित पशुपतिनाथ मन्दिर परिसरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको थियो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भइरहेको यो फिल्मले नेपाली समाजको एउटा अत्यन्तै मार्मिक र यथार्थपरक कथालाई समेट्ने प्रयास गरेको छ । फिल्ममा लम्सालकै पटकथा र संवाद पनि छ ।

फिल्मले एउटा बाबुले आफ्नो सन्तानको भविष्य उज्ज्वल बनाउनका लागि गर्ने अथक त्याग, जीवनभर झेल्ने चुनौती र संघर्षलाई फिल्ममा योद्धाको रुपमा चित्रण गर्ने निर्माण पक्षले जनाएको छ ।

फिल्मका निर्माता वसन्त लम्साल हुन् । गायक तथा सर्जक समेत रहेका लम्सालले यस अघि अभिनेता विपिन कार्कीलाई लिएर फिल्म ‘कर्मा निर्माण गरेका थिए ।