काठमाडौं । सिक्किमका स्रष्टा जीवन शर्माको संगीतमा तयार नयाँ गीत ‘जीवन रहरमै’ सार्वजनिक गरिएको छ । सिक्किमकै स्रष्टा विमल काफ्लेको शब्द रचना रहेको गीतमा गायिका अञ्जु पन्तको स्वर छ । गीतले जीवनका आकांक्षा, अनुभूति र भावनात्मक यात्रालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ ।
मिलाप मासिक र साहित्यक पत्रकार संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा स्रष्टा शर्मालाई सामूहिक अभिनन्दनसमेत गरिएको थियो । संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मिलापका प्रधान सम्पादक कृष्ण भुसालले स्वागत गरेका थिए ।
कार्यक्रममा तारेकेश्वर कला प्रतिष्ठान, डिआर म्युजिक क्रियशन र युथ क्रियशनलगायत संस्थाहरूले पनि स्रष्टा शर्मालाई अभिनन्दन गरेका थिए । उनलाई प्रमुख अतिथि तथा सभापतिसहित महाकाव्यकार खेमनाथ दाहाल, संगीतकार राजु सिंह, कलाकार उत्तम केसी, रमेश थापा, निर्देशक रामशरण कोइराला, लव प्याकुरेललगायतले फूल, माला, दोसल्ला र ताम्रपत्रद्वारा सम्मान गरेका थिए ।
कार्यक्रममा शर्माले आफ्नै गीतसंगीततर्फ सानैदेखिको लगाव रहेको बताउँदै नेपालमा पाएको यो सम्मानले थप जिम्मेवारी थपिएको जनाइन् । जीवनका ४० भन्दा बढी गीत सार्वजनिक भइसकेका छन् भने केही उपन्याससमेत पाठकमाझ आइसकेका छन् ।




