काठमाडौं । विश्वप्रसिद्ध ७९औं कान्स फिल्म महोत्सवको ‘अन सर्टेन रिगार्ड’ विधामा नेपाली फिल्म ‘एलिफेन्ट्स् इन द फग्’ छनोट भएको छ । अविनाश विक्रम शाहद्वारा लिखित तथा निर्देशित यो फिल्म अण्डरग्राउण्ड टकिज नेपाल र जयन्ती कृएसन्सको सहकार्यमा निर्माण भएको हो । यसमा फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण कम्पनीहरूको समेत सहकार्य छ । फिल्मले जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायका एक परिवारको कथा प्रस्तुत गरेको छ ।
ग्रामीण यथार्थ र सामाजिक संवेदनालाई समेटिएको कथामा नयाँ अनुहारका कलाकारसहित गौरी मल्ल, माओत्से गुरुङ, शान्ति गिरी, संजय गुप्ता दुरा, महिमा नवबाग, आशान्त शर्मा लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।
अण्डरग्राउण्ड टकिज नेपालको तर्फबाट अनुप पौडेल निर्माता छन् भने जयन्ती कृएसन्सको तर्फबाट कुमुदिनी गुरुङ श्रेष्ठ, सोहम ढकाल र प्रचण्डमान श्रेष्ठ निर्माताको रूपमा जोडिएका छन् । मीनबहादुर भाम, प्रवेश गुरुङ, केकी अधिकारी, प्रतीक सुवेदी लगायतका फिल्मकर्मीले समेत निर्माणमा साथ दिएका छन् ।
निर्देशक शाहले यसअघि आफ्नो लघु सिनेमा ‘लोरी’बाट कान्समा पुरस्कार जित्दै नेपाली फिल्म क्षेत्रमै पहिचान बनाइसकेका छन् । ‘कालो पोथी’ र ‘शाम्बाला’ जस्ता फिल्मका पटकथाकार रहेका शाहको यो पहिलो निर्देशकिय डेव्यु फिचर फिल्म हो । यो फिल्मको छायांकन नोए बाक र सिरिलले गरेका छन् भने सम्पादन एन्ड्र्यू बर्ड र पेरिस बर्जनको छ । यसवर्षको कान्स मे १२ देखि सुरु हुनेछ ।




