साहित्यकार श्रवणले ल्याए उपन्यास सलह

काठमाडौँ । शनिबार बिहान नेपालयको आरशाला खचाखच थियो । जहाँ कवि तथा गीतकारका रुपमा प्रसिद्ध श्रवण मुकारुङ आख्यानकार अवतारमा अवतरित हुँदै थिए ।

पहिलो आख्यानका रुपमा ‘सलह’ ल्याएका श्रवण मुकारुङले सुरुमै हलको बाहिर बसेर सुनिरहेकाहरूलाई सम्बोधन गरे । लेखक श्रवण मुकारुङले भने, ‘म बाहिर पारिएकाहरूको लेखक, सीमान्तको लेखक सबभन्दा पहिला तपाईं बाहिर उभिएर सुनिरहनु भएकाहरूलाई सम्बोधन गर्छु ।’

‘सलह’ लोकार्पण कार्यक्रममा श्रवण मुकारुङ आफ्ना बाबा सम्झेर भावुक भएका थिए । उनले आफ्नो चार दशक लामो साहित्य यात्रा पनि स्मरण गरे । ‘हुन त कवि–गीतकारभन्दा पहिला म निबन्धकार र नाटककार भएको थिएँ । कक्षा ७ मा पढ्दा ‘हुलाकी बन्ने धोको’ निबन्ध र ९ मा पढ्दा ‘अस्तित्व’ नाटक लेखेको थिएँ । काठमाडौँ आएपछि रत्नराज्यलक्ष्मी क्याम्पस पढ्दा पहिलो चोटि मैले ुआजकल रानीपोखरीमा’ शीर्षकको कविता सुनाएको थिएँ ।’

आफू सुरुदेखि नै साहित्यका विभिन्न विधामा छरिएको बताउँदै मुकारुङले भने, ‘निबन्ध, नाटक, कविता, गीत, कथा, चलचित्र हुँदै अहिले म उपन्यास ुसलह’ लिएर आएको छु । लेखकले छनोट गरेका कतिपय विषयले आफैँ विधाको आग्रह गर्दो रहेछ । यो विषयले नै मलाई उपन्यास ‘सलह’ लेखायो ।’

जनआन्दोलन २०६२–०६३ ताका ‘बिसे नगर्चीको बयान’ लेखेर माहौल तताएका साहित्यकार मुकारुङले धेरै उज्यालो खोज्दा अँध्यारो पनि हुन सक्ने भन्दै निकटको आन्दोलनतिर पनि संकेत गरे ।

चार दशक लामो साहित्य यात्रामा श्रवण मुकारुङका ‘देश खोज्दै जाँदा’, ‘जीवनको लय’ र ‘बिसे नगर्चीको बयान’ कविता संग्रह, ‘हिउँको दरबार’, ‘सुन रे सियाराम’ गीत संग्रह लगायत प्रकाशित छन् । मुकारुङ पाँच वर्षदेखि नेपालयको साप्ताहिक अडियो कविता शृंखला ई–कविता पनि संयोजन गरिरहेका छन् ।

उपन्यासकार श्रवण मुकारुङले आफ्नो पुस्तक संगीतकार कालीप्रसाद बाँस्कोटा, सिनेमा निर्देशक रामबाबु गुरुङ तथा श्रीमती गीता थापा मगरलाई उपहार दिएसँगै पुस्तक लोकार्पण गरिएको थियो ।