काठमाडौँ। निर्देशक कृषा चौलागाईँको तेस्रो निर्देशकीय फिल्म ‘पारस’ को गीत रेकर्डिङ कार्य सुरु भएको छ। केपी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको पहिलो गीतका लागि गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ३’ की विजेता सज्जा चौलागाईँले स्वर दिएकी छन्। उक्त गीतमा संगीतकार तथा गायक कोशिस क्षेत्रीको शब्द र संगीत रहेको छ।
एक्सन तथा सामाजिक कथावस्तुमा आधारित रहने यस फिल्ममा निखिल उप्रेती, जसिता गुरुङ, सुशील श्रेष्ठ, प्रियंका कार्की र निरुता सिंह लगायतको मुख्य भूमिकामा रहने छ।
घोषणाको समयदेखि नै चर्चामा रहेको यस फिल्ममा नाम चलेका स्थापित कलाकारहरू एकपछि अर्को गर्दै जोडिएपछि सिने क्षेत्रमा यसको उत्सुकता थप बढेको छ।
फिल्मको पटकथा भारतीय लेखक सचिन लादियाले तयार पारेका हुन् भने यसको छायांकनको जिम्मेवारी पुरुषोत्तम प्रधानले पाएका छन्।





