सय करोडमा टाइगर जिन्दा हे

मुम्बई(एजेन्सी) । क्रिसमसको मौकामा रिलिज भएको सलमान खानको फिल्म ‘टाइगर जिन्दा हे’ तीन दिनमा सय करोड क्लबमा दर्ता भएको छ । फिल्मले तीन दिनमा एउटा नयाँ रेकर्ड बनाउँदै सय करोडमा प्रवेश गरेको हो ।

समाचार अनुसार २२ डिसेम्बरमा रिलिज फिल्मले २४ डिसेम्बर अर्थात आइतबारसम्म १ सय १० करोड बढी कारोबार गरिसकेको छ । आइतबार फिल्मले करिब ४५ करोडको व्यापार गरेको थियो । यो कमाईसँगै सलमानको फिल्म तीन दिनमा सर्वाधिक कमाउने बलिउड फिल्म बनेको छ । सलमानको यो रेकर्ड अगाडि कसैले पनि यस्तो रेकर्ड राख्न सकेका छैनन् ।

फिल्मले पहिलो दिन ३४ दशमलब ३० करोडको ओपनिङ लिएको थियो । जबकी दोस्रो दिन फिल्मले ३५ दशमलब ३० करोड कमाएको थियो । सोमबार क्रिसमसको विदा भएका कारण फिल्मको विकेण्ड कलेक्सन अझ बढ्नेछ आशा गरिएको छ ।फिल्मको तीन दिनको हिसाबलाई हेर्ने हो भने उत्कृष्ट पाँच फिल्ममध्ये सलमानको नाममा नै तीन फिल्म दर्ता भएको छ । ‘टाइगर जिन्दा हे’का अलावा ‘सुल्तान’ र ‘बजरंगी भाइजान’ले पनि रेकर्ड राखिसकेका छन् ।

यसै वर्ष रिलिज भएको तेलुगु फिल्म ‘बाहुबली २–द कक्लुजनन’को हिन्दी भर्सनले रिलिजको तीन दिनमा १ सय २८ करोड कमाई गरेको थियो । यो फिल्मको रेकर्ड तोड्न भने सलमान असफल भएका छन् । तर सलमानको फिल्मको रफ्तार अहिलेकै जस्तो बढ्दै जाने हो भने यो सालको अन्त्य सम्ममा फिल्मले २ सय करोडको आँकडा छुने अनुमान गरिएको छ । यो वर्ष अजय देवगनको फिल्म ‘गोलमाल अगेन’ले मात्र २ सय करोड पार गरेको छ ।

सलमानको यो वर्ष दुई फिल्ममात्र रिलिज भयो । इदमा आएको फिल्म ‘ट्यूबलाइट’को प्रदर्शन निराशाजनक रहेको थियो । यो फिल्म बक्स अफिसमा औसत रहेको थियो । फिल्मे जम्मा १ सय २१ करोडमात्र कलेक्सन गरेको थियो ।