कतारको तातोमा गर्मिलो रामकहानी

काठमाडौं । नेपालको छायांकन सकेर कतार पुगेको फिल्म ‘रामकहानी’ युनिट यतिबेला त्यहाँको गर्मिलो मौसममा फिल्मका केही दृश्य धमाधम छायांकन गरिरहेका छन् । फिल्मका निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्मा फिल्मको केही दृश्य त्यहाँ खिचिरहेका छन् ।

निर्देशक थापाका अनुसार फिल्मको सुरुवात कतारका दृश्यबाट हुनेछ । ‘हलमा फिल्म हेर्दा दर्शकले शुरुमै कतार हेर्न पाउनेछन् । त्यसै कारण कतारमा आएर फिल्म खिचेका हौं,’ निर्देशक थापाले प्रष्ट्याए, ‘यहाँ नायिका पूजा शर्माको साथमा कतारमै रहेका केही कलाकारले अभिनय गर्नेछन् ।’

कतारको सम्पूर्ण व्यवस्थापन कलाकार विष्णु कार्कीले मिलाएका हुन् । सुदर्शनका अनुसार झण्डै आठ लाख रुपैंयाँको खर्चमा कतारमा सुटिङ गरिएको हो । यो गीतको एउटा गीत नेपालमा छायांकन गर्न बाँकी नै छ ।

कतारको दृश्य फिल्मका छाँयाकार सौरभ लामाले नै खिचेका छन् । भदौ २२ मा रिलिज हुने फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा, विल्सनविक्रम राईको अभिनय छ । फिल्म ‘तिम्रो लागि म’ बोलको गीत युट्युबमा २० लाख भन्दा बढीले हेरिसकेका छन् ।