प्रतिभावान कलाकार खोज्दै सलोन–आमेश

काठमाडौं । नायकद्वय सलोन बस्नेत र आमेश भण्डारीको समूहले देशभरबाट प्रतिभावान कलाकार छान्ने भएका छन् । पर्फेक्ट प्लान इन्टरटेनमेन्टले आयोजना गर्न लागेको ’मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’मा उनीहरुले निर्णायकको भूमिका निर्वाह गर्दै कलाकार छान्न लागेका हुन् । ‘मोनाली ठाकुर लाईभ इन नेपाल’ कार्यक्रम गरिसकेको आयोजकले अडिसनको छनौंट टोलीमा सलोन र आमेशसँगै यूविका श्रेष्ठ र रबिन कँडेललाई पनि राखेका छन् । नेपाली फिल्म तथा सांगीतिक क्षेत्रमा करियर बनाउन चाहने प्रतिभावान युवायुवतीहरुले यो प्रतियोगितामा सहभागिता जनाउन सक्ने सलोनले बताए ।

आगामी असारबाट अडिशन शुरु हुने प्रतियोगिताको लागि आवेदन फारम खुल्ला ंभईसकेको छ । प्रतियोगिता काठमाडौसहित पोखरा, चितवन, बुटवल, नेपालगञ्ज, धरान, हेटौँडा र विराटनगरमा हुनेछ । विजेता तथा फस्र्ट रनरअप र सेकेण्ड रनरअप गरी हरेक शहरबाट छ–छ जनाले ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’ प्रतियोगितामा भाग लिन पाउनेछन् ।  आठ वटै शहरका विजेताले पर्फेक्ट प्लानको तर्फबाट म्यूजिक भिडियोमा ब्रेक पाउनेछन् । दोश्रो चरणमा ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’ विजेताले नेपाली फिल्ममा ब्रेक पाउने बताईएको छ ।

प्रतियोगितामा सहभागि हुनका लागि १६ बर्ष देखी २४ बर्ष भित्रका एसईई पास गरेका नेपाली नागरिक हुनुपर्नेछ । युवकको लागि ५ फिट ५ इन्च देखी माथी र युवतीको लागि ५ फिट २ इन्च देखी माथीको उचाईलाई मान्यता दिईनेछ । काठमाडौ उपत्यकाको लागि असार महिनामा पहिलो चरणको प्रतियोगिता सम्पन्न हुनेछ भने त्यसपछि हरेक महिना एक शहरमा प्रतियोगिता हुनेछ । आठवटै शहरमा पहिलो चरणको प्रतियोगिता सकिएपश्चात दोश्रो चरणको प्रतियोगिता काठमाडौमा नै आयोजना हुने बताईएको छ ।