काठमाडौं । यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘काजी’ को ट्रेलर र गीत सार्वजनिक भएसँगै दर्शकमाझ उत्साह बढिरहेको बेला फिल्मका काजी विपिन कार्कीले फिल्मको कथा, आफ्नो पात्र र अभिनय अनुभवबारे बताएका छन् ।
विपिनले ‘काजी’ आफूले यसअघि नगरेको फरक शैलीको प्रेमकथामा आधारित भएको बताए । उनका अनुसार सुरुवातमा फिल्मको कथा अर्कै थियो, तर केही समयपछि निर्माण टोलीले नयाँ कथासहित आफूलाई पुनः प्रस्ताव गरेको थियो । ‘पहिले हामी अर्को कथामा ‘काजी’को कामलाई अगाडि बढाउने सहमतिमा थियौं । पछि टिम फेरिएर आयो र कथा परिवर्तन गरियो। अहिले बनेको कथा फरक स्वादको छ, जुन मलाई पनि निकै मन पर्यो ।’ उनले भने ।
विपिनका अनुसार फिल्मले प्रेमलाई केवल ठूला संवाद वा भावनात्मक अभिव्यक्तिमा मात्र सीमित नगरी दैनिक जीवनका साना व्यवहार र सम्बन्धभित्र खोजेको छ। उनले श्रीमान–श्रीमतीबीचको समझदारी, त्याग र सँगै खुशी भएर बाँच्ने भावनालाई फिल्मको केन्द्रमा राखिएको बताए। ‘साना–साना कुरामा पनि प्रेम प्रकट हुन्छ । श्रीमतीको खुशीमा आफ्नो खुशी खोज्ने, एकअर्काका लागि त्याग गर्ने यस्ता सूक्ष्म भावनालाई ‘काजी’ले निकै सुन्दर ढंगले प्रस्तुत गरेको छ।’ उनले भने ।
विपिनले आफू पनि वैवाहिक जीवन बाँचिरहेको व्यक्ति भएकाले पात्र बुझ्न धेरै कठिन नभएको अनुभव सुनाए । उनले काजीको पात्रलाई आफ्नो जीवनसँग नजिक महसुस गरेको बताए। फिल्मको समय परिवेश २०५० सालअघिको रहेको र आफूले निभाएको पात्र ‘काजी खानदान’ को विरासत बोकेको युवक भएको उनले बताए।
लक्ष्मण रिजालको निर्देशन रहेको फिल्ममा केकी अधिकारी, गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम लगायतको अभिनय रहेको छ । प्रदीप भारद्वाजको कथा रहेको यस फिल्मलाई रामप्रसाद रिजालले प्रस्तुत गरेका हुन्।





