थाइल्याण्डमा प्रेमिल सुनिल–अलिशा

काठमाडौं । म्युजिकल थ्रिलर फिल्म ‘चि मुसी चि’को पहिलो गीत ‘तिमीले माग्छौ भने’ बोलको गीत सार्वजनिक भएको छ । साउन ११ गते रिलिज हुने फिल्मले आइतबार पत्रकार र फिल्मकर्मीमाझ सार्वजनिक गरिएको हो ।

सुरज अधिकारीको शब्द तथा संगीत रहेको गीतमा अञ्जु पन्त र युवराज चौलागाइँको स्वर छ । गीतमा फिल्मका ‘डेब्यु’ कलाकार सुनिल क्षेत्री र अलिशा शर्माले फिचरिङ गरेका छन् । गीतमा क्षेत्रीकै कोरियोग्राफी छ ।

निर्देशक श्रेष्ठले फिल्मको नाम सुन्दा हाँस्यपरक लागे पनि फिल्ममा कमेडी कथा नरहेको खुलाए । ‘फिल्मको नामले दर्शकलाई कमेडी फ्लेबर लागे पनि फिल्ममा त्यस्तो केही छैन,’उनले भने,‘सांगीतिक प्रेमकथा र थ्रिलर फ्लेबर फिल्ममा पाइन्छ ।’ अरुणकुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डबबहादुर गुरुङ निर्माता रहेको फिल्ममा शिवराज कार्की कार्यकारी निर्माता छन् ।

शिवराज कार्की, शेखर अधिकारी, सुशान्त कार्की, कमली वाइवाको पनि अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी, बासु न्यौपानेको छायांकन र भूपेन्द्र अधिकारीको सम्पादन छ ।