अष्ट्रेलियामा गुड्दै केकीको कोहलपुर एक्सप्रेस

काठमाडौं । नायिका केकी अधिकारीको अभिनय तथा निर्माण रहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ अब अस्ट्रेलियाका शहरमा गुड्ने भएको छ । विशाल भण्डारीको डेब्यु निर्देशन रहेको कमेडी फ्लेबरको फिल्म राईट एण्ड एसोसियट्स एजुकेसनल कन्सल्टेन्सीले अस्ट्रेलियाको अधिकार लिए पछि त्यहाँका विभिन्न सहरमा फिल्म प्रदर्शन हुने निश्चित भएको हो । राजधानीमा मंगलबार पत्रकारमाझ फिल्म अष्ट्रेलियाका सहरमा प्रदर्शन हुने जानकारी दिइएको हो । कार्यक्रममा अभिनेत्री तथा निर्मात्री केकी अधिकारी, निर्देशक बिशाल भण्डारी, कन्सल्टेन्सीका पीआर अधिकारी, प्रतित खड्का, सुरज बस्नेतलगायतको उपस्थिति थियो ।

२००१ मा स्थापित कन्सल्टेन्सीले यस अघि केकीकै फिल्म ‘लब सासा’ लाई पनि अस्ट्रेलियामा प्रदर्शन गर्ने जिम्मा लिएको थियो । नेपाली फिल्मको बजार बिस्तारको लागि आफूहरु लागि पर्ने संस्थाका निर्देशक अधिकारीले बताए । वैशाख १४ गते बाट नेपाल प्रदर्शनमा आएको केकीको फिल्मले नेपालमा सन्तोषजनक व्यापार गरेको थियो ।

फिल्ममा केकीका अलावा प्रियंका कार्की, ऋचा शर्मा, बुद्धि तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा अर्जुन पोखरेल, कालीप्रसाद बाँस्कोटा, राजनराज सिवाकोटीको संगीत, लोकेश बज्राचार्यको सम्पादन, अर्जुन तिवारीको छायांकन, बिशाल भण्डारीको कथा, शान बस्न्यातको पटकथा र संवाद र भद्रबहादुर शाही, देवीलाल न्यौपाने (पण्डित),शिवप्रसाद चौलागाईको लगानी छ ।