कालिप्रसादलाई राष्ट्रिय स्रष्टा सम्मान

काठमाडौं । गीतकार संघ यो वर्षको ‘राष्ट्रिय स्रष्टा सम्मान’ गीतकार कालिप्रसाद रिजाललाई दिने भएको छ । आफ्नो स्थापना दिवसको अवसर पारेर संघले रिजाललाई सम्मानको घोषणा गरेको हो । गीतकार एवं निर्देशक यादव खरेल, गायक एवं संगीतकार दीप श्रेष्ठ र संघका अध्यक्ष चुडामणि देवकोटाको छनौट समितिले गीतकार रिजाललाई राष्ट्रिय स्रष्टा सम्मान दिने निर्णय गरेको हो ।

यस वर्षबाट राष्ट्रिय स्रष्टा सम्मानको अगाडि गीतकार अमर वान्तवा राईको नाम जोड्दै ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान–२०७४’ प्रदान गर्ने निर्णय गरेको छ । गीतकार राईले गीतकार संघ नेपालको कोषमा १५ लाख रुपैयाँ राख्दै कोष वृद्धि गरिदिएकोमा संघले उक्त निर्णय गरेको संघका अध्यक्ष देवकोटाले बताए । रिजाललाई १ लाख १ रुपैंयाँ नगदसहित सम्मान गरिनेछ ।

त्यसैगरी यस वर्षको वर्ष गीत पुरस्कारको उत्कृष्ट १० गीतहरुको सूची पनि सार्वजनिक गरिएको छ । जसमा अम्बिका गुरुङ (आँखा लाउँछन्), किरण केसी क्रोधी (कुनै दिन यी दृष्टि), गणेश श्रेष्ठ ‘अपेक्षा’ (आफू उभिएको), नूतन भुसाल (सुटुक्कै मनमा), प्रकाश केसी (रगत पनि), पवित्रा राई (अभिनय गर्दै), वसन्तराज अज्ञात (सपनीमा घरी घरी), डा.राजुबाबु श्रेष्ठ (सम्पत्ति दिएँ), राजु थापा (भीरै माथि) र सुमन बैरागी (प्रवासको पीडा) रहेका छन् ।

वर्ष गीत पुरस्कारका लागि दर्ता भएका एक सय गीतबाट गीतसंगीतमा निरन्तरता, गुणस्तरीयता, सामाजिक स्वीकार्यसहितको योगदानलाई ध्यानमा राखेर उत्कृष्ट दश सार्वजनिक गरिएको अध्यक्ष देवकोटाले कार्यक्रममा बताए । वर्ष गीत पुरस्कारको राशि ५१ हजार नगद रहेको छ ।

त्यसैगरी यस वर्षको डायस्पोरा गीतकार सम्मानबाट गीतकार राखि गौचनलाई प्रदान गर्ने निर्णय गरिएको छ । गीतकार गौचनलाई ११ हजार नगद राशिसहित सम्मान गरिने संघले जनाएको छ ।
त्यसैगरी यस वर्षको वर्ष गीत पुस्तकतर्फ जानुका राईको आमा, पूर्ण बहादुर साउद ‘शिरिष’को गजलको धून र सुमन श्रापितको भावनाको खेती उत्कृष्ट तीनभित्र परेका छन् । तीनबाट उत्कृष्ट हुने एक पुस्तकलाई ५१ हजार नगद राशिसहित सम्मान गरिनेछ ।