प्रेमकथा बोल्ने यो पागल मन

काठमाडौं । तीन वर्ष अघि निर्माण भएको फिल्म ‘यो पागल मन’को ट्रेलर सार्वजनिक भएको छ । २०७२ वैशाखमा छायांकन हुने भनिए पनि भूकम्प कारण पछि सरेको फिल्म आगामी असार २९ मा रिलिज हुँदैछ ।

राजधानीमा मंगलबार एक कार्यक्रमबीच फिल्म युनिटले ट्रेलर सार्वजनिक गरेको हो । फिल्म निर्देशक किरण अधिकारीले फिल्मले प्रेमकथाको कुरा बोल्ने बताए । ‘फिल्ममा विशुद्ध प्रेमकथा छ । आफूले मनपराएको प्रेमिकामा गम्भीर रोग देखिएपछि प्रेमिले भोग्नुपरेको पीडा र उसलाई बचाउन गरेको संघर्ष नै फिल्मको प्रमुख कथा हो ।’ निर्देशक कल्याण अधिकारीले भने ।

फिल्मका नायक विनोद न्यौपानेले भूकम्पताका फिल्म बनेको स्मरण गरे । ‘हामी फिल्मको सुटिङ तयारी गरिरहँदा भूकम्प गयो । भूकम्पका कारण हामीले एक महिना पछि सुटिङ गर्यौ । निकै तनावपूर्ण अवस्थामा काम गर्नुपरेको थियो,’ विनोदले भने,‘फिल्ममा म एक प्रेमीको चरित्रमा छु । एउटा प्रेमीले गर्ने संघर्षलाई दर्शकले फिल्ममा हेर्नुहुनेछ ।’

फिल्मका निर्माता वीरेन्द्रकुमार यादवले आफ्ना लागि फिल्म क्षेत्र नयाँ भए पनि फिल्मको काम देख्दा रमाइलो लागेको बताए । फिल्ममा विनोदसँगै ऋचासिंह ठकुरी, गौरी मल्ल, राजेश ढुंगाना, एनी कुँवर, भोमन कटुवाललगायतका कलाकारको अभिनय छ । राजदेवी प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा अर्जुन पोखरेलको संगीत, राजु किराँतको द्वन्द्व, कमल राईको कोरियोग्राफी र शम्भु सापकोटाको छायांकन छ ।