देवताको पीडा पोख्दै रामकृष्ण

काठमाडौं । गायक रामकृष्ण ढकालको नयाँ गीत ‘बाटो गल्लीको देवता’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उनले गीतमा वास्तविक देवताको कथालाई प्रस्तुत गरेका छन् । गीतकार मनिष वशिष्ठको रचना तथा सुशान्त गौतमको संगीत रहेको गीतमा देश–देशावरमा बहकिएका तीर्थालुलाई प्रतीकात्मक व्यंग्य प्रहार गरिएको छ ।

नजिकको तीर्थ हेला हुन्छ भन्ने उखानलाई प्रमाणित गर्दै गायक ढकालले नाम चलेका मन्दिरमा तीर्थव्रतका लागि देश–विदेश जाने तर आफ्नै वरपर रहेका मन्दिर र मूर्तिहरुलाई हेला गर्ने प्रवृत्तिबारे यो गीत तयार पारिएको बताए । प्रस्तुत गीतमार्फत आफ्नो स्वरमा केही फरक स्वाद दर्शक–श्रोतालाई दिने प्रयास गरेको गायक ढकालको भनाइ छ ।

उक्त गीतको भिडियोमा जीवन भट्टराई, सगुन पोखरेल, लकी भण्डारीसहितका कलाकारहरुले अभिनय गरेका छन् । निकेश खड्काद्वारा निर्देशित उक्त भिडियोमा उत्तम हुमागाईंको छायांकन तथा विकास धमलाको सम्पादन छ ।