प्रसादमा निश्चल हिरो कि भिलेन ?

काठमाडौं । पत्रकार सुशिल पौडेलले लेखेको निःसन्तान दम्पत्तीको कथामा आधारित फिल्म ‘प्रसाद’मा निर्देशक, निर्माता तथा कलाकार निश्चल बस्नेतले अभिनय गर्ने भएका छन् । दिनेश राउतको निर्देशन रहने यो फिल्ममा यसअघि नै नम्रता सापकोटा र विपिन कार्की त भईसकेका छन् । नम्रता र विपिनलाई केही समय अघि राजधानीमा पत्रकार सम्मेलनमार्फत अनुबन्धित भएको जानकारी दिइएको थियो ।

सुवास थापाको लगानी रहने फिल्ममा निश्चललाई चुनौतीपूर्ण र पृथक भुमिकामा अभिनय गराइने निर्माण पक्षले जनाएको छ । तर उनी फिल्ममा हिरो या भिलेन कुन चरित्रमा हुन् भन्ने खुलाइएको छैन । ‘स्क्रिप्टमा त्यो चरित्र निर्माण हुनासाथ मेरो दिमागमा आएको फस्ट इमेज नै निश्चल थियो’ निर्देशक राउतले भने, ‘उहाँलाई प्रस्ताव गरेपछि खेल्न राजी हुनुभएको हो ।’ निर्माता थापाले निर्देशक राउतले स्क्रिप्ट अनुसार निश्चल नै हुनुपर्ने बताएपछि उनलाई अनुबनध गरिएको जनाए ।

निश्चलले आफुलाई निर्देशक राउतले फिल्मको बारेमा र चरित्रका बारेमा भन्ने बित्तिकै आफुलाई चित्त बुझेको बताए । ‘जुन मैले अहिलेसम्म नगरेकै च्यालेन्जिङ रोल यसमा छ । फिल्मको स्टोरी नै एकदमै राम्रो छ । स्टोरी पनि राम्रो हुनु र क्यारेक्टर पनि दमदार हुने बित्तिकै मलाई खेल्न रुची जागेको हो ।’ उनले भने ।

असार १ देखि छायांकनमा जाने फिल्म सुवास थापा इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको हो । फिल्ममा राजेश श्रेष्ठको छायांकन, सुवास भुषाल र कोशिस क्षेत्रीको संगीत रहनेछ ।