बाबु कान्छा टिजरमा दुई सलोन

काठमाडौं । कलाकार सलोन बस्नेतले बाल कलाकारका रुपमा अभिनय गरेका धेरै फिल्ममध्ये उनको सम्झनलायक फिल्म ‘नेपाली बाबु’ पनि एक हो । यो फिल्ममा उनले गरेको अभिनयबाट जोकोही पनि प्रभावित छन् ।

यतिबेला सलोन फिल्ममा हिरोका रुपमा नै अभिनय गर्न थालिसकेका छन् । आगामी असार २९ मा रिलिज हुन लागेको फिल्म ‘बाबु कान्छा’मा भने सलोनलाई दुईवटा रुपमा देख्न पाइने भएको छ । फिल्मको सार्वजनिक टिजर उनको बाल्यकालको रुप र अहिलेको वयस्क रुप देखाइएको छ ।

फिल्ममा सलोनसँगै नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, करिष्मा श्रेष्ठ, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, सुशान्त श्रेष्ठ, विक्रम कँडेललगायतको अभिनय छ । फिल्मबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछन् ।

शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको फिल्ममा फिल्म ‘कर्णवीर’मा समावेश ‘चन्द्रमा झै राम्री’ बोलको रिमिक्स भर्सनलाई दर्शक तथा स्रोताले मन पराएका छन् । सञ्चारकर्मी रवी अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा सन्तोषराज भण्डारी र सुरज घिमिरे सह निर्माता छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी, अस्ट महर्जनको एक्शन, गौतम राज खड्काको सम्पादन ,टंक बुढाथोकी संगीत छ ।