बिहानी शोबाटै हाउसफूल काला

मुम्बई(एजेन्सी) । दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्त जब पर्दामा आउँछन्, त्यो बेला दर्शकको बाढी नै लाग्छ । उनको बहुप्रतिक्षित फिल्म ‘काला’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । यो फिल्मको पहिलो शो विहान ४ बजे नै राखिएको थियो । रमाइलो कुरा के छ भने यो फिल्म बिहान ४ बजेबाटै हाउसफूलका साथ चलिरहेको छ ।

पहिलो शो पछि फिल्म हल बाहिर फिल्म हेर्नकै लागि रजनीकान्तका फ्यानको लामो लाइन नै लागेको छ । रजनीकान्तको फेमका रुपमा रहेको ‘थलाइवा’ नृत्य पनि फ्यानका लागि ठूलो क्रेज बनेको छ । विहानै देखि थिएटरको टिकटघरमा एकातर्फ दर्शकको लाइन छ भने अर्को तर्फ फ्यानले थलाइवा नृत्य गरिरहेका छन् । फिल्म ‘कबाली’ पछि रजनीकान्तको यो फिल्मले दर्शकलाई दिवाना नै बनाइसकेको छ ।

रजनीकान्तलाई भगवान मान्ने उनका फ्यानले तमिलनाडुको फिल्म हल बाहिर फिल्मको पोष्टरलाई दुधले नुहाइदिएका छन् । योसँगै सडकमा पटकाको आतिशबाजी नै गरेका छन् । रजनीकान्तका हरेक फिल्म रिलिज हुँदा दक्षिण भारतमा विजयोत्सव नै मनाइन्छ । यो फिल्मका निर्माता रजनीकान्तका ज्वाई धनुष हुन् । फिल्ममा रजनीकान्त डनको भूमिकामा छन् । यो फिल्मलाई सेन्सरले १४ दृश्य काटेर पास गरेको थियो ।