ड्रिम गर्लको मायामा परे आकाश

काठमाडौं । प्रेमकथामा बनेको फिल्म ‘ड्रिम गर्ल’को पहिलो गीत ‘तिम्रो मायामा हराउन’बोलको गीत सार्वजनिक भएको छ । ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशनमा बनेको फिल्मको गीतमा प्रमुख कलाकार आकाश श्रेष्ठ र आश्मा गिरीले फिचरिङ गरेका छन् ।

आगामी असोज १९ गतेदेखि प्रदर्शनमा आउने फिल्मको गीतमा अन्जु पन्त र सुरेश लामाको स्वर, अम्बिका शर्माको शब्द र अर्जुन पोखरेलको संगीत छ । गीतमा गम्भीर बिष्टको कोरियोग्राफी छ । रारा ताल र थाइल्याण्डका बिभिन्न रमणीय स्थानमा खिचिएको गीतमा प्रेमीप्रेमिकालाई प्रेमभावमा प्रस्तुत गरिएको छ ।

फिल्ममा सरोज खनाल, अर्जुन श्रेष्ठ, विल्सनविक्रम राई, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा ‘गैडा’, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डितलगायतले अभिनय गरेका छन् । फिल्मको निर्मातामा निर्देशक ऋषिराज, अर्जुन शर्मा र रामेश्वर धिताल छन । फिल्म आरबी मुभीजले दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनीसंगको सहकार्यमा निर्माण गरेको हो । काठमाडौ, मुस्ताङ तथा थाइल्याण्डमा खिचिएको फिल्ममा नविन निरौलाको सम्पादन र राहुल राई तथा रामेश्वर हुमागाइको छायांकन छ ।