टेप रेकर्डिङमा नविनको नयाँ गीत

काठमाडौं । गायक नविन के भट्टराई नयाँ गीति संग्रह ‘एनकेबी’ लिएर श्रोता दर्शकसमक्ष आएका छन् । म्युजिक नेपालले बजारमा ल्याएको उक्त संग्रहको पहिलो गीत ‘मेरो नाम’ युट्युब तथा विभिन्न टेलिभिजन तथा रेडियोबाट सार्बजनिक भएको छ ।

गीतमा नरेशदेव पन्तको शब्द छ । नविनले नरेशसँग झण्डै १३ वर्ष पछि सहकार्य गरेका हुन् । गीतको संगीत संयोजन इमान विक्रम शाह ले गरेका छन् । आफ्ना पुराना गीत संगीत जस्तै यो गीतलाई पनि दर्शक तथा श्रोताले मन पराउनेमा नविन आशावादी छन् ।

गीतको रेकर्डिङ पुरानो प्रविधि (टेप) बाट रेकर्डिङ गरिएको हो । डिजिटल प्रविधिबाट सजिलो हुने भए पनि टेपबाट रेकर्डिङ गर्नु अझै राम्रो भएको नविन बताउँछन् । भिडियोमा नवकलाकार टिना राजभण्डारी र संजय भट्टराईको अभिनय छ । नविना भट्टराईले निर्देशन गरेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन र निशान घिमिरेको सम्पादन छ ।