जासूस पछि अब गायिका आलिया

मुम्बई(एजेन्सी) । बलिउड फिल्म ‘राजी’मा जासूसको भूमिकामा अभिनय गरेर बक्स अफिसमा उत्कृष्ट कलेक्सन गराउन सफल नायिका आलिया भट्टलाई ‘राजी’पछि धेरै सानदार प्रोजेक्टको लाइन नै लागेको छ । फिल्ममेकर अश्विनी अय्यर तिवारी र आलिया यतिबेला एउटा नयाँ प्रोजेक्टको तयारी गरिरहेका छन् । यो अनाम फिल्म सन् २०१९को मध्यतिर रिलिजको योजना बनाइएको छ ।

यो फिल्मको स्क्रिप्ट अश्विनीका पति र फिल्ममेकर नितीश तिवारी तथा ‘दंगल’मा उनको सहलेखक रहेका निखिल मल्होत्राले लेखिरहेका छन् । समाचार अनुसार यो फिल्म सन् २०१४ मा रिलिज फ्रान्सेली फिल्म ‘ला फैमिले बिलायर’बाट प्रेरित छ । यो फिल्ममा आलिया एक गायिकाको भूमिकामा देखिँदैछिन् । जो आफ्नो गायन सपना पुरा गर्न संघर्षरत छिन् ।

‘ला फैमिले बिलायर’ले व्यावसायिक र समिक्षात्मक रुपमा राम्रो प्रतिक्रिया पाएको थियो । यो फिल्मको कथा सञ्जय लीला भंसालीको सन् १९९६ मा रिलिज फिल्म ‘खामोशी’को सम्झना दिलाउँछ । ‘खामोशी’मा सलमान खान, मनीषा कोइराला र नाना पाटेकर प्रमुख भूमिकामा थिए ।