प्रचारप्रसारमा तिमी हुन्छौ जहाँ जहाँ

काठमाडौं । असारको पहिलो साता रिलिज हुने फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ले मोफसल प्रचारप्रसारको कामलाई तिब्रता दिएको छ । प्रचारप्रसारका क्रममा फिल्म युनिटले चितवनमा पत्रकार सम्मेलन गर्दै फिल्मबारे विस्तृत जानकारी दिएको हो । फिल्मको प्रचारका लागि पूर्व मिस नेपाल तथा नायिका मलिना जोशी, नायक मनिषसुन्दर श्रेष्ठसहित नवअभिनेत्री तमन्ना केसी, निर्माता डालचन्द्र दवाडी, कार्यकारी निर्माता प्रकाश बासकोटाको टोली चितवन पुगेका हुन् ।

चितवनमा पत्रकारमाझ नायिका मलिनाले फिल्म लभ स्टोरी भए पनि एक्सन पनि हेर्न पाइने बताइन् । ‘फिल्ममा म एउटा सरल केटीको भूमिका छु,’उनले भनिन्, ‘जो धरानबाट ठुलो सपना बोकेर काठमाडौ पुग्छे ।’ नायक मनिषले आफूले अघिल्लो फिल्म ‘रानी’ भन्दा यो दोस्रो फिल्ममा राम्रो काम गरेको बताए । ‘प्रदर्शन मिती नजिकिदै फर्दा हल्का डर लागे पनि राम्रो काम गरेकोले दर्शकले मन पराउनेमा म विश्वस्त छु ।’ उनले भने ।

नवनायिका तमन्ना केसीले आफुलाई पहिले देखी नै फिल्ममा काम गर्ने इच्छा रहेको र ‘तिमी हुन्छौ जहाँ जहाँ’ ले आफ्नो सपना साकार पारेको बताईन । फिल्मका निर्माता डालचन्द्र र कार्यकारी निर्माता प्रकाशले पनि फिल्मका बारे बोलेका थिए । विकास बस्यालको निर्देशन रहेको फिल्ममा रामशरण उप्रेतीको छायांकन छ ।