दहि चिउरा खानेदिन सविनको ए सोल्टिनी

काठमाडौं । गीत र ट्रेलर सार्वजनिक भइसकेको फिल्म ‘ए सोल्टिनी’ आगामी असार १५ मा रिलिज हुने भएको छ । निर्देशक निमा लामा तामाङले दहि चिउरा खाने शुभसाइतका दिन पारेर फिल्म रिलिज गर्न लागिएको बताए ।

दिलकुमार घलान तामाङले निर्माण गरेको फिल्ममा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्वा, अनिता गोले, गंगा राना मगर, बिबि राना मगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारले अभिनय गरेका छन् ।

जिम्बा फिल्मस् प्रोडक्शनको ब्यानरमा पूर्णी तामाङ प्रस्तुतकर्ता रहेको फिल्मको वितरण आरआर फिल्मले गर्दैछ । तामाङ भाषाका भण्डै एक दर्जन फिल्म निर्देशन गरिसकेका निर्देशक निमाको ‘ए सोल्टिनी’ पहिलो नेपाली फिल्म हो । उनले यो फिल्म पछि ‘दोषी को’ र ‘परदेशले लुटेको सपना’ नामक नेपाली फिल्म निर्देशन गरेका छन् । फिल्म निकै रमाइलो बनेकाले दर्शकले मन पराउने बिश्वास निर्माता दिलकुमारको छ ।

काठमाडौ उपत्यका वरिपरि खिचिएको फिल्ममा सोल्टिनीको माया पाउन सोल्टाहरुले गर्ने संघर्ष र तडपाई प्रस्तुत गरिएकोछ । कमेडी, लभ, एक्शन तथा सेन्टिमेन्ट रहेको फिल्ममा विश्वास भण्डारीको छायांकन र सम्पादन, सोमलाल वाइवा र बिनय केटुको संगीत, राज गोलेले द्वन्द्व र अभि लामाको कोरियोग्राफी छ ।