बोबी हेरौं, नर्वे घुमौं

काठमाडौं । आगामी असार २९ गतेबाट प्रदर्शनमा आउने प्रेमकथाको फिल्म ‘बोबी’ दर्शकले नेपालदेखि नर्वेसम्मको एक हप्ते यात्रा गर्ने अवसर पाउने भएका छन् । फिल्म युनिटले फिल्मको प्रचारप्रसारसँगै फिल्म प्रति दर्शकको क्रेज बढाउनका लागि यस्तो अफरको घोषणा गरेको हो ।

फिल्म निर्देशक मिलन चाम्सका अनुसार फिल्म हेरेका दर्शकले टिकटमा आफ्नो नाम लेखि, त्यसको फोटो खिचेर ‘बोबी’को आधिकारिक फेसबुक पेजमा पठाउनु पर्नेछ । त्यहाँ उपलब्ध भएका फोटोलाई फेसबुक लाइभ मार्फत गोलाप्रथा गरि विजेता छनोट गरिनेछ । ‘भाग्यशाली दर्शकले आफ्नो जोडीसँगै फिल्मकी नायिका बोबीको जन्मघर पोखरा, कर्मघर ललितपुर हुँदै कर्मथलो नर्वेसम्मको यात्रा गर्न पाउनेछन् ।’ मिलनले भने ।

फिल्ममा रियल जोडी उमेश थापा र कविता गुरुङको रियल कथा प्रस्तुत गरिएको छ । फिल्ममा दुबै जनाको प्रेम, संघर्ष र सफलताको कथा छ । उनीहरुबाहेक फिल्ममा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय छ ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा सञ्चारकर्मी नरेश भट्टराईको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन र ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।