नेपालमा चार्ली चाप्लिनका भारतीय डुप्लिकेट

काठमाडौं । हलिउड अभिनेता चार्ली चाप्लिनका भारतीय डुप्लिकेटका रुपमा चिनिएका भारतीय कलाकार राजन कुमार आफ्नो फिल्म ‘नमस्ते बिहार’को प्रमोसनका लागि यतिबेला नेपालमा छन् । फिल्म जुलाईको अन्तिम सातादेखि प्रदर्शनमा आउँदैछ ।

सन् २०१० मा ‘चार्ली चाप्लिन–२’का रुपमा उनको नाम गिनिज बुक अफ रेकर्ड र लिम्का बुक अफ रेकड्र्स पनि लेखिएको छ । पत्रकारको आग्रहपछि कार्यक्रममै उनले चार्लीको शैलीमा अभिनय गरेर सहभागीलाई हँसाएका थिए । उनले पत्रकारमाझ ‘नमस्ते बिहार’को विषयबारे बोलेका थिए । ‘फिल्म बिहारमा जन्मिएको एक युवा डब्लुको कथा हो,’ उनले भने, ‘जहाँ डब्लुको भुमिकामा म स्वयम्ले निर्वाह गरेको छु । फिल्ममा डब्लु निडर र साहसी युवाको भूमिकामा छ । एउटा इमान्दार युवा कसरी अपराध र अन्डरवल्र्डको भुमरीमा नचाहँदानचाहँदै फस्छ फिल्म त्यसकै वरिपरि घुमेको छ ।’

फिल्ममा भुमिका कलिता अभिनेत्रीको भूमिकामा छिन् । उनले अपराध पत्रकारको भूमिका निर्वाह गरेकी छिन् । राजनका अनुसार नमस्ते बिहार बिहारको पत्रिकाको नाम हो र यही नामलाई फिल्मको नामका रुपमा राखिएको हो । फिल्मलाई भारतको पटना, बिहार, जमलपुर लगायतका ठाउँमा खिचिएको कार्यक्रममा जानकारी दिइयो । ‘भारतमा नेपाली फिल्मका दर्शक धेरै छन् भन्ने थाहा छ, त्यसैले घुमघाम र फिल्मको प्रचारको उद्देश्य लिएर नेपाल आएको हुँ,’ राजनले भने ।

प्रेसमिटमा राजनलाई फिल्म निर्माता राजकुमार महतोले नेपाली खुकुरी उपहार स्वरुप प्रदान गरेका थिए । राजन स्टेज नृत्यमा पनि पपुलर छन् । सन् १९९८ मा उत्कृष्ट छाउ नृत्य गरेवापत उनलाई नेसनल अवार्ड समेत प्रदान गरिएको थियो । सन् २०१६ को भारतीय पद्माश्री अवार्डमा पनि उनी मनोनयनमा परेका थिए ।