सन्तोषको मेरी मामुमा थाइल्याण्डको कुकुर

काठमाडौं । आशुसेन फिल्मको चौथो प्रस्तुतिका रुपमा घोषणा गरिएको फिल्म ‘मेरी मामु’को मुहुर्त गरिएको छ । ‘चंखे शंखे पंखे’, ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ जस्ता फिल्म निर्माण गरिसकेको आशुसेनको नयाँ फिल्मको राजधानीमा मुहुर्त गरिएको हो ।

सन्तोष सेनको लगानी रहने फिल्ममा यम थापाको कथा तथा निर्देशन हुनेछ । भदौ १५ मा रिलिज हुने फिल्ममा सन्तोषका छ वर्षिय छोरा आयुव सेनको मुख्य भुमिका रहने छ । बाल मनोविज्ञानमा पारिवारिक कथा बोक्ने फिल्ममा अश्लेशा ठकुरी,सारुक ताम्राकार, नवनायिका कुसुम गुरुङ, दुर्गा मल्लसहित भुवन चन्दको पनि अभिनय रहनेछ ।

राजधानीको जोरपाटीस्थित एक घरमा अभिनेत्री भुवन चन्दको क्ल्याप र ‘प्रेम गीत २’का निर्देशक रामशरण पाठकको एक्सनबाट फिल्मको मुहुर्त भएको हो । कल्याण सिंहको संगीत रहने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, एलिश कार्कीको पाश्र्व संगीत र बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन हुनेछ । फिल्ममा मेसी नामको गोल्डेन रेटिभ जातको कुकुरको पनि अभियन रहने छ । यो कुकुर माउन्ट एभरेट केनल क्लबमार्फत थाइल्याण्डबाट नेपाल ल्याइएको छ ।