देश दौडाहामा अनमोल केसी

काठमाडौ । फिल्म ‘क्याप्टेन’को छायांकनमा व्यस्त नायक अनमोल केसी भदौको पहिलो सातादेखि भदौ अन्तिम सातासम्म देश दौडाहामा निस्कने भएका छन् । यो उनको दौडाहा फिल्मको प्रमोसनको लागि भने हुने छैन । सामाजिक सेवासँगै पर्यटन प्रबद्र्धनका लागि हुन लागेको ‘अनमोल साँझ २०१८’का लागि अनमोलको दौडाहा हुन लागेको हो । देशका प्रमुख चार सहरमा हुने कार्यक्रम मोनिका इन्टरनेशनल ग्रुपले आयोजना गरेको हो ।

राजधानीमा शनिवार पत्रकारमाझ अनमोलले बाल्यकालदेखिको समाजसेवा गर्ने इच्छा पुरा भएकोमा खुशी व्यक्त गरे । ‘पहिलो पटक आफ्ना प्रशंसकसँग प्रत्यक्ष भेट्ने अवसर पाउन लाग्दा खुशी छु । अहिलेसम्म मैले सामाजिक कार्यका लागि भनेर कुनै काम गरेको थिइन । यो मेरो लागि ठूलो अवसर हो ।’ उनले भने । कार्यक्रममा अनमोलले फिल्मको पनि केही प्रमोशन गर्ने खुलाए ।

भाद्र ९ गतेबाट शुरु हुने कार्यक्रमले आन्तरिक पर्यटन प्रवर्द्धन, कला सँस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका निभाउने तथा नेत्रहिन महिला संघ नेपाललाई सहयोग गर्ने उद्देश्य लिएको छ । चारवटै कार्यक्रममा अनमोलले नृत्य तथा गायन प्रस्तुती दिनेछन् ।

भाद्र ९ गते बुटवल, भाद्र १६ गते पोखरा, भाद्र २३ गते चितवन र विर्तामोडमा भाद्र २७ गते उक्त कार्यक्रम हुने आयोजक संस्था मोनिका इन्टरनेशनल ग्रूपका अध्यक्ष कमल जिसीले जानकारी दिए । अनमोल केसी हेलिकप्टरमार्फत् काठमाडौंबाट सिधै कार्यक्रम स्थलमा ओर्लिने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

आयोजक संस्था मोनिकाका अध्यक्ष जिसीले पर्यटन प्रर्बद्धन तथा विशुद्द सामाजिक कार्यका लागि ’अनमोल साँझ’ गर्न लागिएको बताए । यस कन्सर्टका लागि अहिलेसम्म अनमोलसँग स्टेज शेयर अभिनेत्री प्रियंका कार्कीले गर्ने तय भएको छ । अन्य कलाकारको टुंगो चाँडै लाग्ने आयोजक संस्थाको भनाई छ ।