कविता महोत्सवमा फूलमानको कविता उत्कृष्ट

काठमाडौ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६१औँ वार्षिकोत्सवका अवसरमा शनिवार आयोजित राष्ट्रिय कविता महोत्सवमा काभ्रेपलाञ्चोकका फूलमान बलको ‘इन्द्रेणी गीत’ शीर्षकको कविता प्रथम भएको छ । महोत्सवमा धादिङकी सुनिता खनालको ‘श्याम श्वेत फोटो’ शीर्षक दोस्रो भएको छ भने तीनजना कविका कविता तेस्रो भएका छन् । तेह्रथुमका एलिना दुलालको ‘लाहुरेकी स्वास्नी’ रामेछापका जीवन खत्रीको ‘अर्को प्यास’ र मोरङकी मेनुका चापागाइँको ‘बाटो बिराएँछु’ कविता तेस्रो भएको प्रतिष्ठानका कार्यक्रम संयोजक सन्ध्या पहाडीले जानकारी दिए ।

पुरस्कारको राशि प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः ३० हजार, २५ हजार र २० हजार रहेको छ । प्रथम घोषित कवि बलले नेपाली समाजमा पहिचानको नाममा देखिएको द्वन्द्व, त्यसको व्यवस्थापनका विषय र समसामयिक राष्ट्रिय चासोको विषयमा आफूले कविता सिर्जना गरेकामा त्यो पुरस्कृत भएकोमा खुशी व्यक्त गरे । कवि बल कान्तिपुर दैनिकका पत्रकार पनि हुन् ।

प्रतियोगी कविहरुमा विजयी कवि, कवयित्रीका अलावा सचित राई, दिलु भण्डारी, हीरा भटृ, धर्मानन्द भटृ, सीता भण्डारी कँडेल, गिरि श्रीश मगर, त्रिभूवनचन्द्र वाग्ले लगायत ३६ जना कविले कविता वाचन गरेका थिए ।

महोत्सवमा कवि वैरागी काँइला, सुलोचना मानन्धर, महेश प्रसाँई, लक्ष्मी माली, रमेश पौडयाल, आरएम डंगोल, विमला तुम्खेवा, बलराम दाहाल लगायत २१ जना अतिथि कविले पनि कविता वाचन गरे । विजयी कविहरुलाई उपयुक्त समयमा राष्ट्रपतिबाट पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।