फस्ट लुकमा यस्तो नाईं नभन्नू ल ५

काठमाडौं । फिल्म ‘नाईं नभन्नू ५’को फस्ट लुक सार्वजनिक भएको छ । निर्माण टिमले दुई जोडीलाई पोस्टरमा स्थान दिँदै फिल्मको फस्ट लुक सार्वजनिक गरेको हो । पोस्टरमा स्वस्तिमा खड्काले डेब्यु अभिनेता अभिषेक नेपालसँग देख्न सकिन्छ भने अनुभव रेग्मी अर्की डेब्यु कलाकार सेड्रिना शर्मासँग छ ।

निर्देशक विकास आचार्यले फिल्मको कथा अनुसार फिल्मको फस्ट लुक सार्वजनिक गरेको बताए । ‘नाईं नभन्नूल ५ सदा झैं फेमली ड्रामा हो । तर यो सिरिजमा फेमली ड्रामासँगै लभस्टोरीलाई उत्तिकै स्थान दिएका छौं । पोस्टर यस्तै कथाको झझल्को हो’ आचार्यले भने ।

भदौ ८ गते रिलिज हुने फिल्ममा दिलिप रायमाझी, निरुता सिंह, केकी अधिकारी, प्रियंका कार्की, स्वस्तिमा खड्का, जयनन्द लामा, बुद्धि तामाङ आदि कलाकारको अभिनय छ । अभिषेकले स्वस्तिमाको जोडी भएर अभिनय गरेका छन् भने सेड्रिना अनुभवको जोडीको रुपमा देखिनेछन् ।

फिल्मलाई विकास आचार्य र सामीप्यराज तिमल्सेना मिलेर लेखेका हुन् भने फिल्मको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् । बसन्त सापकोटाको संगीत रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । फिल्म भदौ ८मा रिलिज हुँदैछ ।