अमेरिका र नेपालमा रोमियो एण्ड मुना

काठमाडौं । आगामी साउन ११ गतेबाट रिलिजको तयारीमा रहेको फिल्म ‘रोमियो एण्ड मुना’ नेपालसँगै अमेरिकामा पनि एकसाथ रिलिज हुने भएको छ । त्यहाँँको नाम्लो ईभेन्टले अमेरिकाको न्युयोर्क, बाल्टिमोर, डालस लगायत शहरमा फिल्मलाई रिलिज गर्न लागेको हो ।

नाम्लोका विक्रान्तमान श्रेष्ठले फिल्मको अमेरिका राइट्स लिएका छन् । फिल्मको अमेरिका राइट्स १५ लाख रुपैयाँ रहेको निर्माता प्रशन्न गोपालीले बताए । अमेरिकासँगै युरोपका इटाली र जर्मनमा पनि फिल्म बिक्री भएको निर्माता गोपालीले जनाए । उनका अनुसार युके, जापान र कतारमा पनि फिल्म प्रदर्शनको लागि कुरा भइरहेको छ । विनय श्रेष्ठ र श्रृष्टि श्रेष्ठ अभिनित फिल्ममा नरेशकुमार केसीको निर्देशन छ ।