को होला मायाङ्ककी नायिका

काठमाडौं । प्रमुख नायिकालाई लुकाउँदै नयाँ फिल्म ‘मायाङ्क’को घोषणा गरिएको छ । राजधानीमा बुधबार पत्रकारमाझ फिल्मका अन्य कलाकार सार्वजनिक गरिए पनि प्रमुख नायिकालाई भने निर्माण पक्षले सार्वजनिक गरेनन् ।

कार्यक्रममा फिल्मका प्रमूख चार कलाकारहरु मध्ये तीनजना प्रशान्त ताम्राकार, सुशिल उप्रेती र ज्योत्सना योगीलाई मात्र सार्वजनिक गरियो । फिल्ममार्फत निर्देशनमा डेब्यु गर्न लागेकी रोमी मानन्धरले प्रेमकथामा बन्ने फिल्मकी नायिका कथा अनुसार नै खुलाउन नसकिएको बताइन् ।

यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेका सुशिलले फिल्मका लागि आफूले डेढ वर्षदेखि मेहनत गरेको बताए । उनी ओस्कार कलेजबाट अभिनयमा स्नातक विद्यार्थी हुन् । अभिनेता प्रशान्तले फिल्ममा आफ्नो अरु फिल्ममा भन्दा भिन्न भूमिका रहेको बताए । नायिका ज्योत्सनाले ‘मायाङ्क’ आफुले खोजेको जस्तै फिल्म रहेको बताईन् ।

फिल्मका निर्माता जितेन्द्र खतिवडाले आफुले निर्देशक मानन्धरलाई पूर्ण बिश्वास गरेको बताए । नयाँ तरिकाबाट फिल्मलाई बेच्ने योजनासहित यो फिल्म निर्माण गर्न लागेको उनले खुलाए । ‘मायाङ्क’ भदौ पहिलो साताबाट छायांकनमा गई माघमा रिलिज हुनेछ । फिल्म प्याराडाइज पिक्चर्स र माईन्डस्क्रिन फिल्म्सको ब्यानरमा बन्न लागेको हो ।