सलमानको भारतमा प्रियंकाको निःशुल्क अभिनय

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खानको निर्माण घोषणा गरिएको फिल्म ‘भारत’बाट बलिउडमा कमव्याक गर्न लागेकी अभिनेत्री प्रियंका चोपडाले यो फिल्मका लागि लिने पारिश्रमिकका विषयमा निकै चर्को बहस चल्यो । फिल्मका लागि प्रियंकाले राम्रो पारिश्रमिक लिने समाचार सञ्चारमाध्यममा आए ।

तर अब उनको पारिश्रमिकका विषयमा नयाँ समाचार बाहिर आएको छ । फिल्म युनिटका अनुसार प्रियंकाले यो फिल्ममा विना पारिश्रमिक काम गर्दैछिन् । प्रियंकाले फिल्मका लागि १२ करोड रुपैंयाँको पारिश्रमिक लिएको समाचार आएको थियो । तर फिल्म युनिटले प्रियंकाले पारिश्रमिक लिएको भन्ने हल्ला निराधार रहेको जनाएको छ ।

‘प्रियंकाले वास्तवमा यो फिल्मका लागि निःशुल्क अभिनय गर्ने घोषणा गरेकी छन् । किनकी भारतका निर्देशक अली अब्बास जफर प्रियंकाकी मिल्ने साथी हुन्,’ फिल्म युनिटका एक सदस्यले भनेका छन् । बलिउडमा हालसम्मको सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीमा दीपिका पादुकोण छिन् । फिल्म ‘पद्मावत’मा महंगो पारिश्रमिक लिएकी दीपिकाले त्यसपछिका फिल्ममा भने यति धेरै महंगो पारिश्रमिक पाउन सकेकी छैनन् ।