ब्ल्याकमा आँचलप्रति हिरिक्क आकाश

काठमाडौं । जेठबाट भदौ १ मा रिलिजको मिति सरेको फिल्म ‘ब्ल्याक’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा फिल्मकी नायिका आँचल शर्मा प्रति नायक आकाश श्रेष्ठको माया र उनीहरुको मायामा भिलेन चरित्रमा देखिएका अर्का कलाकार आयुष रिजालको अवरोधलाई देखाइएको छ ।

फिल्मका नायक आकाश श्रेष्ठले फिल्म ‘ब्ल्याक’मा आफूले अघिल्ला फिल्ममा गरेका कमजोरीलाई सच्याउने प्रयास गरेको बताए । निर्देशक प्रदिप श्रेष्ठले डार्क प्रेमकथामा फिल्म बनाइएको बताए । उनले फिल्ममा फरक किसिमको प्रेमकथा प्रस्तुत गरिएको बताए । फिल्मकी प्रस्तुतकर्ता आश्मा पाण्डेले फिल्मले युवापुस्ताको प्रेमलाई प्रतिनिधित्व गर्ने बताइन् ।

आस्मा फिल्मस्को व्यानरमा निर्मित फिल्ममा आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल र आश्मा पाण्डेलगायतको अभिनय छ । आश्मा पाण्डे निर्माता र चेतनकुमार पाण्डे कार्यकारी निर्माता रहेको फिल्ममा महेश खड्काको संगीत, मौनता श्रेष्ठको लेखन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन, चन्द्र पन्तको द्वन्द्व र रामशरण उप्रेतीको छायांकन छ ।