जन्मदिनमा सुगम पुत्री एन्जेलिजाको गीत

काठमाडौं । गायक सुगम पोखरेलकी छोरी एन्जेलिजा पोखरेलले गीत ‘मलाई उड्न देउ’मार्फत आफ्नो सांगीतिक यात्रा शुरु गरेकी छन् । करिब ५ वर्ष अघि नै रेकर्ड गरिएको गीतको भिडियो एन्जेलिजाको जन्मदिनको अवसर पारेर जन्मदिन भन्दा केहि दिन अघि सार्वजनिक भएको हो ।

सांगीतिक कार्यक्रमका लागि अमेरिका रहेका गायक सुगमले आफ्नै युट्युब च्यानलबाट यो गीत सार्वजनिक गरेका छन् । ‘स्वेत हंशिनी’ नामक एल्बममा समावेश गीतमा शब्द तथा संगीत सुगम पोखरेलको छ भने संगीत संयोजन शैलेन्द्र प्रधान ‘बाबु’को छ । एल्बम बजारमा आउने तयारीमा छ ।

गायक सुगमका अनुसार एल्बममा रहेको ‘सरस्वती बन्दना’ गीतमा पनि एन्जेलिजाकै स्वर सुन्न सकिन्छ । ‘छोरीको पहिलो प्रयासलाई दर्शक तथा श्रोताले मन पराइदिनुहुनेछ भन्नेमा विश्वस्त छु ।’ उनले भने । भिडियोमा अनिल मानन्धरको छायांकन तथा निर्देशन छ । गीतमा सुनिल क्षेत्रीको कोरियोग्राफी र शिलन लम्सालको सम्पादन छ ।