फिल्ममा ल्याङ ल्याङ गर्दै करण

काठमाडौं । लामो समयदेखि अभिनय, फिल्म निर्माण र वितरणको काम गर्दै आएका युवा फिल्मकर्मी करण श्रेष्ठ ‘क्रेजी’ अब निर्देशकका रुपमा दर्शकमाझ आउने भएका छन् । उनले ट्याक्सी ड्राइभर र बारमा काम गर्ने महिलाको कथालाई विषयबस्तु बनाएर नयाँ फिल्म ‘ल्याङ ल्याङ’ बनाउन लागेका हुन् ।

फिल्मको आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै घोषणा गरियो । निर्देशक श्रेष्ठले सामाजिक विषयमा कमेडी मिसाएर फिल्म बनाइने बताए । ‘फिल्मले ट्याक्सी ड्राइभर र बारमा काम गर्ने महिला पात्रलाई अगाडि सारेर सामाजिक विषयका मुद्धालाई उठान गर्नेछ,’निर्देशक करणले भने,‘फिल्मको कथाले सबै कुरा बोल्नेछ ।’

फिल्ममा करणकी आमा अमृतमाया श्रेष्ठ छिन् । भदौको अन्तिम साताबाट छायांकनमा जाने फिल्ममा नाजिर हुसेन, सुस्मिता बुर्लाकोटी, बुद्दि तामाङ, प्रदिप चौधरी, विजय बराल, भोला सापकोटा, कमलमणी नेपाल, राजन खतिवडा, सरिता गिरी, देविराम पराजुली, दमन रुपाखेतीको अभिनय रहनेछ ।

नेपाल, अष्ट्रेलिया र बहराइनमा छायांकन गरिने फिल्ममा सोम कुस्कु माझीको कथा, प्रदिपकुमार चौधरीको पटकथा तथा संवाद, साहिल खानको सम्पादन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, टंक बुढाथोकीको संगीत छ । निर्देशक करणका अनुसार फिल्मकी मुख्य नायिका सस्पेन्समा राखिएको छ ।