फिल्म वितरणमा जीजीएको आगमन

काठमाडौं । दुई दशकको फिल्म वितरणमा अनुभव संगालिसकेका मदनमान बज्रचार्य आधा दशकपछि पुनः फिल्म वितरणमा फर्किएका छन् । उनले अष्टनारायणका त्रिरत्न मानन्धर र गुण सिनेमाका महेश कसजुसँग मिलेर फिल्म वितरणका लागि जीजीए ग्रुप सुरु गरेका हुन् ।

राजधानीमा सोमबार पत्रकारमाझ विगतमा डाँफे गु्रप, विश्वज्योती ग्रुप, ड्रम्स गु्रप जस्ता कम्पनीबाट नेपाली फिल्मको वितरण गरेका मदनमानले सोही कार्यलाई निरन्तरता दिन नयाँ समुह जीजीए ग्रुप मार्फत फेरी वितरणमा हात हाल्न लागेको बताए ।

कार्यक्रममा ग्रुपले नयाँ फिल्म ‘जय भोले’को काठमाडौं उपत्यकामा वितरणका लागि निर्माता एवम् निर्देशक अशोक शर्मासँग सम्झौता गरेको छ । ग्रुपका तर्फबाट मदनमान बज्राचार्य, त्रिरत्न मानन्धर, महेश कसजु र निर्माता अशोक शर्माले हस्ताक्षर गरे । फिल्म आगामी दशैंको फूलपातीमा रिलिज हुँदैछ ।

मदनमानले आफुहरुले फिल्म प्रदर्शन भएको दुईसाता भित्र सबै हिसाव बुझाउने बताए । ‘फिल्मलाई प्रदर्शन अघि प्रोत्साहन गर्न प्रचारप्रसारमा सघाउने, फिल्म पुरा गर्न १५ प्रतिशतमा अग्रिम पैसा दिने, प्रचार सामग्री बनाईदिने जस्ता कार्य पनि गर्ने छौं ।’ उनले भने । निर्माता अशोकले जीजीए ग्रुपले फिल्म प्रदर्शन भएको दुई साताभित्र सबै हिसाब बुझाउने प्रतिबद्धता जनाउनु प्रशंसनीय रहेको बताए । सांसद एवम् फिल्मकर्मी रामवीर मानन्धरले फिल्म वितरणमा यो समुह इमान्दर रहने विश्वास व्यक्त गरे ।