जय शम्भुमा उज्याला भिलेन प्रशान्त

काठमाडौं । अभिनेता प्रशान्त ताम्राकार फिल्म ‘ऐश्वर्य’बाट भिलेन अभिनेताका रुपमा निकै रुचाइए । यो फिल्म पछि उनलाई अधिकांश फिल्म निर्माताले भिलेन चरित्रमै फिल्ममा अनुबन्धित गरे । यिनै प्रशान्तलाई भिलेन चरित्रमा प्रस्तुत गरिएको फिल्म ‘जय शम्भु’को टिजर सार्वजनिक भएको छ ।

सार्वजनिक टिजरमा प्रशान्तको भिलेन रुपलाई नयाँ रुपमा प्रयोग गरिएको छ । अर्थात टिजर हेर्दा उनको उज्यालो अनुहारमा रिसाहा भाव देख्न सकिन्छ । टिजरमा फिल्मका अन्य दुई प्रमुख कलाकरा अनुपविक्रम शाही र वर्षा शिवाकोटीलाई पनि देखाइएको छ ।

आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई राजधानीमा बिके फिल्मसका गोपालकाजी कायस्थ र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्दैछन् । राजधानीको लागि बिके फिल्मससँग पहिलो पटक जयन ईन्टरटेन्मेन्टका जयन श्रेष्ठले पनि सहकार्य गरेका छन् ।

दिनेश शाही प्रस्तुतकर्ता रहेको फिल्ममा अरविन्द्रमान शाक्य निर्माता छन् भने चक्र पाख्रिन कार्यकारी निर्माता छन् । यस्तै सह निर्माताहरु कुशल शर्माा र शिक्षा काफ्ले हुन् । फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका हुन् । फिल्ममा हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको एक्शन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ । फिल्ममा रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राजकुमार थापा, कालु रानाको पनि अभिनय छ ।