यशकुमारको छिरिङमा २५ वर्षे पुरानो बोल बोल पाखाहरु

काठमाडौं । गायक तथा नायक यशकुमारको निर्देशन रहेको फिल्म ‘छिरिङ’ को पहिलो गीत ‘बोल बोल पाखाहरु’ सार्वजनिक भएको छ । २५ वर्ष अघि गायक सुक्मित गुरुङले गाएको यो लोकप्रिय गीतलाई फिल्ममा रिमेक गरी राखिएको छ ।

गीतमा गीतमा सुनिता थेम्मी र विन्दु परियारको स्वर, प्रकाश गुरुङको संगीत र दिनेश अधिकारीको शब्द छ । निर्देशक यशकुमारले वल्र्डकपको माहोल चलिरहेकोले अहिलेलाई युट्युबबाट गीत रिलिज गरिएको बताए । उनका अनुसार चाँडै नै फिल्मको ट्रेलर तथा अन्य गीत पत्रकारसम्मेलनमार्फत सार्वजनिक गरिनेछ ।

गायिका सुक्मितले गाएको यो गीत फिल्म ‘झुमा’ मा समावेश छ । नयाँ गीतमा अपर मुस्ताङको मनोरम दृश्य समेटिएको छ भने बौद्ध धर्मावलम्बीहरुको संस्कार संस्कृति झल्कने शैलीमा प्रस्तुत गरिएको छ । गीतमा नवनायिका कामना भुजेलले फिचरिङ गरेकी छन् ।

फिल्ममा निमा रुम्बा, यशकुमार र कामना भुजेलले अभिनय गरेका छन् । फिल्ममा सबीर श्रेष्ठ, यम थापा र यशकुमारको पटकथा, कविराज गहतराज र गोविन्द प्रभातको कोरियोग्राफी, चन्द्र पन्तको द्वन्द्व, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन तथा मानकृष्ण महर्जनको छायांकन छ । असोज १२ गते रिलिज हुने फिल्ममा आइबी दर्नाल, सुनिल प्रधान माथेमा र नविन बुढाथोकीको लगानी छ ।