यी हुन् २०१८ का प्रतिक्षित बलिउड फिल्म

मुम्बई(एजेन्सी) । सन् २०१७ को अन्त्य हुन अब केही दिन मात्र बाँकी छ । विश्व समुदाय नयाँ वर्षको स्वागत गर्न कौतुहलताका साथ व्यग्र प्रतिक्षामा छन् । बलिउडका दर्शकहरु चाहिँ नयाँ साल भन्दा पनि सन् २०१८ मा रिलिज हुन लागेका प्रतिक्षित फिल्मको पर्खाईमा छन् । फिल्म क्षेत्रका दिग्गजका फिल्मका अलावा स्टार अनुहारका सन्तानको डेब्यु रहेको फिल्म २०१८ मा रिलिज हुँदैछ । सन् २०१७ मा बाहुबली प्रभाष, आमिर खान र अक्षय कुमारको दबदबा रहँदा आगामी वर्ष कसको दबदबा हुने हो कसैले आँकलन गर्न सकेका छैनन् । नयाँ वर्षमा रिलिज हुने ठूला बजेटका फिल्म यी हुनेछन्ः–

अरुणाचलम मुरुगनाथमको जिन्दगीबाट प्रेरित फिल्म ‘पेडमेन’मा अक्षयकुमार, राधिका आप्टे र सोनम कपुरको मुख्य भूमिका छ । आर बाल्कीको निर्देशनमा बनेको फिल्म जनवरी २६ मा रिलिज हुँदैछ । सैफअली खानकी छोरी सारा अभिषेक कपूर फिल्म ‘केदारनाथ’बाट अभिनयमा डेब्यु गर्दैछिन् । फिल्ममा साराको अपोजिटमा सुशान्त सिंह राजपूत हुनेछन् । यो फिल्म २०१८ को डिसेम्बर २१ मा रिलिज हुनेछ ।

२०१७ को डिसेम्बर १ मा रिलिज हुने तयारीमा रहेको फिल्म ‘पद्मावती’ विवादमा मुछिएपछि हालसम्म पनि फिल्म हलमा पुग्न सकेको छैन । फिल्म नयाँ वर्षको शुरुवाती महिनामा नै रिलिज हुने फिल्मकर्मीको अनुमान छ । फिल्ममा दीपिका पादुकोण, शाहिद कपूर र रणवीर सिंह प्रमुख भूमिकामा छन् । अक्षय कुमारको फिल्म ‘गोल्ड’ सुटिङ सकेका छन् । रीमा कागतीले निर्देशन गरेको यो फिल्म २०१८ को अगष्ट १५ मा रिलिज हुँदैछ । फिल्ममा अक्षयका साथ मौनी रोय, गौहर खान, कुणाल कपूर, अमित सादको अभिनय हुनेछ ।

आमा बनेपछि पहिलोपटक नायिका करिना कपुर फिल्म ‘वीरे दी वेडिङ’बाट फिल्ममा कमव्याक गर्दैछिन् । फिल्ममा सोनम कपूर, स्वरा भास्कर र शिखा तल्सानियाको पनि अभिनय छ । आगामी मे १८ मा रिलिज हुने फिल्मको निर्देशन शशांक घोषले गरेका छन् । एस शंकर निर्देशित फिल्म ‘२.०’मा पहिलोपटक अक्षय कुमार र रजनीकान्त एकसाथ देखिँदैछन् । ४ सय ५० करोडको यो फिल्ममा एमी ज्याक्सनको पनि अभिनय रहेको छ ।

टाइगर श्राफ र दिशा पाटनी स्टारर फिल्म ‘बागी–२’ आगामी अप्रिल २७ मा रिलिज हुँदैछ । अहमद खान निर्देशित फिल्म २०१६ को फिल्म ‘बागी’को सिक्वेल हो । सलमान खानको फिल्म ‘रेस ३’ रेमो डिसूजाले निर्देशन गरिरहेका छन् । फिल्ममा डेजी शाह, जैकलीन, सकीब सलीम, बोबी देओलको पनि अभिनय रहनेछ । फिल्म आगामी वर्षको मे ४ मा रिलिज हुनेछ । फिल्म ‘ठग अफ हिन्दुस्तान’ पनि आगामी वर्ष रिलिज हुने ठूलो बजेटको फिल्ममध्ये एक हो । फिल्ममा आमिर खान, अमिताभ बच्चन, कटरीना कैफ र फातिमा सना शेखको अभिनय रहेको छ । आगामी नोभेम्बर ७ मा रिलिज हुने फिल्म विजय कृष्ण आचार्यले निर्देश्न गरिरहेका छन् ।

आमा बनेपछि फिल्ममा पुनरागमन गरेकी अर्की नायिका रानी मुखर्जीको फिल्म ‘हिचकी’ फेब्रुअरी २३ मा रिलिज हुँदैछ । फिल्मका निर्देशक सिद्धार्थ पी मल्होत्रा हुन् । कंगना रनौतको फिल्म ‘मणिकर्णिका’ अप्रिल २७ मा रिलिज हुँदैछ । फिल्मको निर्देशन कृषले गरेका छन् । फिल्ममार्फत सुशांत सिंह राजपूतकी पूर्व प्रेमिका अंकिता लोखंडे बलिउडमा डेब्यु गर्दैछिन् । फिल्ममा सोनु सुद पनि छन् । फिल्म ‘बाहुबली’ पछि प्रभासको आगामी वर्ष एक्सन फिल्म ‘साहो’ रिलिज हुनेछ । पीरियोडिक फिल्म ‘बाहुबली’ पछि उनलाई नयाँ अवतारमा यो फिल्ममा दर्शकले हेर्न पाउनेछन् । उनको अपोजिटमा श्रद्धा कपूर छिन् । सुजितको निर्देशनमा बनेको फिल्ममा नील नितिन मुकेश पनि छन् । यो फिल्म २०१८ मै रिलिज हुने सम्भावना छ ।

श्रीदेवीकी छोरी जाह्नवी कपूर मराठी फिल्म ‘सैराट’ को हिन्दी सरमेक ‘धड्क’बाट बलिउडमा डेब्यु गर्दैछिन् । फिल्ममा उनीसँगै शाहिद कपूरका भाइ इशान खट्टरको पनि अभिनय हुनेछ । फिल्म २०१८ को जुलाई ६ मा रिलिज हुनेछ । ऐश्वर्या राय, राजकुमार राव र अनिल कपूर स्टारर फिल्म ‘फन्ने खां’ जुन १५ मा रिलिज हुँदैछ । फिल्मको अतुल मांजरेकरले निर्देशन गरेका छन् । कैयौं वर्ष पछि अनिल कपूर र ऐश्वर्याको जोडी पर्दामा देखिँदैछन् ।  करण जौहरको फिल्म ‘स्टूडेन्ट अफ द ईयर–२’मा टाइगर श्राफ लीड रोलमा हुनेछन् । पुनीत मल्होत्राको निर्देशन हुने फिल्मको रिलिज डेट र स्टारकास्ट फाइनल नभए पनि २०१८ मै फिल्म रिलिज हुने पक्कापक्की छ । निर्देशक आनन्द एल रायको फिल्म फिल्म ‘ड्वार्फ’ पनि आगामी वर्ष नै रिलिज हुनेछ । यसमा शाहरुख खान कटरीना कैफ र अनुष्का शर्मा हुनेछन् ।