अनुष्का बनिन् पेटा पर्सन अफ दि इयर

मुम्बई(एजेन्सी) । बलिउड नायिका अनुष्का शर्मालाई सन् २०१७ निकै फापेको छ । वर्षको अन्त्यतिर क्रिकेट विराट कोहलीसँग लगनगाँठो कसेकी अनुष्कालाई अर्को खुशीको खबर पनि प्राप्त भएको छ । उनलाई पिपुल्स फर दी एथिकल ट्रिटमेन्ट अफ एनीमल(पेटा)ले २०१७ को ‘पर्सन अफ दि ईयर’ अवार्डको मनोनयनमा छनौंट गरेको छ ।

पेटाका सहायक निर्देशक सचिन बंगेराले अनुष्का पशु अधिकारको समर्थक रहेको र उनको स्वभाव दयालु किसिमको भएकाले जनावर प्रेमीसमेत रहेको बताए । अनुष्का प्रायः घरपालुवा जनावरसँगको आफ्नो तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्दछिन् ।

पेटाले अनुष्काले सामाजिक सञ्जालमा मुम्बईमा पशुमाथि हुने क्रुर अत्याचार माथि प्रतिबन्धको माग राखेकी छन् । मुम्बईमा घोडाहरुलाई पर्याप्त आराम बिना, बिना पर्याप्त भोजन र पानी सदाबहार काममा जोताइने गरिएपछि अनुष्काले त्यसका विरुद्ध आवाज उठाएकी हुन् ।

अनुष्का अघि नेता डा. शशि थरूर, उच्चतम न्यायालयका पूर्व न्यायाधीश के एस राधाकृष्णन पानिक्कर, बलिउड कलाकारहरु हेमा मालिनी, आर माधवन, जैकलीन फर्नांडीस र कपिल शर्मालाई पनि पेटाको ‘पर्सन अफ दि ईयर’ अवार्ड दिइसकिएको छ ।