सय वर्षमा महाकाव्य ल्याउँदै राष्ट्रकवि

काठमाडौँ । उमेरले सतकको हाराहारीमा पुग्न लागेका राष्ट्रकवि माधवप्रसाद घिमिरेले जीवनको एक शताब्दीको अनुभवलाई समेटेर महाकाव्य ल्याउने भएका छन् । उनले आफ्नो सय वर्षलाई स्मरणीय बनाउन महाकाव्य ल्याउन लागेको बताउ ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको छैटौं स्थापना दिवसका अवसरमा बुधबार आयोजित पुनर्मिलन कार्यक्रममा उनले केही महिनापछि आफू १०० वर्ष पुग्न लागेकाले सो महाकाब्य प्रकाशनमा ल्याउने जानकारी दिए । उनले ज्येष्ठ नागरिकलाई परिवारको हेरचाह, स्नेह र मायाको खाँचो पर्ने बताउँदै उनीहरुको सामाजिक सुरक्षाका लागि सरकारले सहयोग गर्नुपर्ने बताए ।

महासंघका कार्यवाहक अध्यक्ष मदनदास श्रेष्ठले जेष्ठ नागरिकहरुले देखाएको मार्गनिर्देशनलाई परिवार, समाज र राज्यको सबै निकायले अनुशरण गर्नुपर्ने सुझाव दिए । उनले ज्येष्ठ नागरिकको अनुभवलाई उपयोग गरी समृद्ध समाज निर्माण गर्नुपर्नेमा जोड दिए । अहिले मुलुकमा करिब २७ लाख ज्येष्ठ नागरिक रहेको र देशका ६५ जिल्लामा सञ्जाल विस्तार भएको बताइएको छ । विसं २०६८ पुस १२ गते महासंघ स्थापना भएको हो ।