फिलिपिन्समा नेपालको चित्रकला प्रदर्शनी

साहिला तामाङ, मनिला (फिलिपिन्स) । फिलिपिन्सको दगुपान पाङ्गासिनानस्थित मंगलदान नेशनल हाई स्कुलमा आयोजित चित्रकला प्रदर्शनीमा सहभागी हुनेको संख्या उल्लेखनीय रहेको छ । ललितपुरको सौगलमा स्थापित योङ पिकासो संस्थाद्वारा यहाँ आयोजित प्रदर्शनीमा सहभागी हुन विद्यार्थी, चित्रकार, स्थानीयलगायत सरोकारवालाको सहभागीता रहेको आयोजकले जनाएका छन् ।

उक्त प्रदर्शनीमा नेपालको पर्यटनलाई झल्काउने किसिमका चित्र, कला, संस्कृति, परम्परा, धर्म, जातीय वेशभूषालगायत झल्कने खालको चित्र राखिएको संस्थाका प्रबन्ध निर्देशक एवं चित्रकार अजय देशारले बताए । प्रदर्शनीका लागि उक्त संस्थाको प्रतिनिधित्व गर्दै अजय देशार र चित्रकार किशोर नकर्मी यहाँ आउनुभएको उनले बताए । मंगलबारदेखि शुरु भएको प्रदर्शनी तीन दिनसम्म सञ्चालन हुने उनले जानकारी दिनुभयो । एकल चित्रकला प्रदर्शनीअन्तर्गत अजय देशार, किशोर नकर्मी, विपना महर्जन र सितु मास्केद्वारा सिर्जना गरिएका चित्र राखिएको छ ।

विसं २०५५ देखि निरन्तर कला क्षेत्रमा लागेका देशारद्वारा सिर्जित चित्रले राजधानीमा रहेको पर्व एवं जात्राका बारेमा दर्शाउन खोजेको पाइन्छ । कला क्षेत्रमा क्रियाशील मास्केद्वारा सिर्जित चित्रले नेपालका विकट क्षेत्रमा अवस्थित गुम्बाका बारेमा केही सन्देश दिन खोजेको आभास पाइन्छ ।

प्रिन्ट चित्रमा दक्षता हासिल गरेका महर्जनद्वारा सिर्जित चित्रले नेपालमा मानिँदै आएको कलासंस्कृतिलाई झल्काउने प्रयास गरेको देखिन्छ । चित्रकार जेनी क्युलोपका अनुसार प्रदर्शनीमा राखिएका हरेक चित्रले नेपालमा परम्परागत रुपमा मान्दै आएको संस्कृतिलाई जोगाउन तथा मौलिक पहिचानलाई मूर्तरुप प्रदान गर्न सक्षम रहन सक्ने विश्वास रहेको छ । चित्रद्वारा नै समाजका हरेक गतिविधिलाई बाहिर उजागर गर्न सकिने उनले बताइन्न ।

प्रदर्शनीमा माछापुच्छ«े हिमाल, चैत्यहरू, मठमन्दिर, बुद्धका मुहार अंकित चित्र, विभिन्न प्रकारका पक्षी, परम्परागत गाउँघरलाई चिनाउने किसिमका चित्र तथा साधु, खोलानाला लगायतका चित्रले अधिक प्राथमिकता पाएको छ । मिक्समिडिया, उडकट (काष्ठ) बाट तयार पारिएका, इचिङ, लिथोग्राफीलगायतका चित्र समेत प्रदर्शनीमा राखिएका थिए ।